९ श्रावन २०७८ , शनिबार

साँस्कृतिक सहर, काठमाडौं महानगर

Old Website

साँस्कृतिक सहर, काठमाडौं महानगर

काठमाडौँ महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, वाग्मती प्रदेश

समाचार

स्वप्न बगैंचा

स्वप्न बगैंचा काठमाडौँको पर्यटकीय स्थल ठमेलको प्रवेश मार्गमा अवस्थित एक ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो। वास्तुकलाको अनुपम नमूना प्रस्तुत भएको यो बगैंचा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ। यस बगैंचालाई कतिपयले ‘सपनाको स्वर्ग’ भन्ने गरेका छन् भने कसैले मिनी यूरोप पनि । तत्कालिन नेपाली सेनाका फिल्ड मार्शल केशर शमशेर जबराले युरोप भ्रमणका बेला बेलायतका राजा ‘किङ् एडवार्ड सातौँ’को बगैंचा अवलोकन गरेका थिए। त्यसैबाट प्रभावित भएर उनले सन् १९२०मा यो बगैंचाको निर्माण गरेका हुन् ।

केशर शमशेरको मृत्युपछि २०२१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यस बगैंचाले दशकौंसम्म उपेक्षित बन्नु परेको थियो। झण्डैं ७ वर्ष लगाएर पुननिर्माण गरी २०६४ सालदेखि यो बगैंचा सञ्चालनमा ल्याइएको हो। ऐतिहासिक र शास्त्रीय शैलीमा निर्माण गरिएको यो बगैंचाको नमूना वरिष्ठ वास्तुविद् किशोर नरसिंह राणाले गरेका हुन्।

६ ऋतुका नामबाट निर्माण गरिएका सदन (आराम गृह), पोखरी, यूरोपियन शैलीको बरण्डा र विभिन्न प्रकारका चरा वस्ने घरहरूले यो बगैंचालाई थप आकर्षक बनाएको छ। युवाजोडीका लागि मात्र होइन परिवारसहित घुम्न र रमाइलो गर्न पनि सकिने यो बगैंचा प्रवेशका लागि नेपालीलाई ८०, विदेशीलाई १ सय ६० र बृद्धबृद्धा तथा बालबालिकालाई ४० रूपैयाँ शुल्क लाग्छ। शान्त र सफा यो बगैंचा प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक वास्तुकलाको ज्ञान र मनोरञ्जन लिन पनि उपयुक्त छ। स्वप्न बगैंचाभित्र निजी तथा सामूहिक समारोहका साथै सांस्कृतिक र अन्य कार्यक्रमसमेत गर्न सकिन्छ। यो बगैंचामा घुम्न र मनोरञ्जन लिन आउनेहरूको सुविधालाई ध्यानमा राखेर बगैंचा हाताभित्रै ‘केशर क्याफे’ सञ्चालन गरिएको छ।

source – wikipedia

ठेगाना

Thamel, Kathmandu

खुल्ने समय

Mon-Sat 9AM–10PM

फोन नम्बर

-