काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त


काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त हुनुभएको छ । गुरागाईँले, २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद वहाली गर्नुभएको थियो । उमेरका कारण आजदेखि उहाँ अनिवार्य अवकाशमा जानुभएको हो ।

काठमाडौँ महानगरपालिकाको इतिहासमा उहाँ (गुरागाईँ) नै प्रमुख प्रशासकीय अधिकृत पदबाट सेवा निवृत्त पहिलो अधिकारी हुनुहुन्छ । कार्यक्रममा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले भन्नुभयो, ‘महानगरपालिकाको संस्थागत विकासका लागि यहाँको ज्ञान, सिप र अनुभव काम लाग्छ । यहाँबाट त्यसप्रकारको सेवाको अपेक्षा गरेका छौँ ।’
विदाइ अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, आफ्नो साढे ३२ वर्षे सेवा अवधिमा काठमाडौँ महानगरपालिकामा सेवा गरेको अवधि सबैभन्दा स्मरणीय रहेको बताउनुभयो । ‘प्रशासनिक सेवामा आउने उतारचढाव कर्मचारीका लागि स्वभाविक हुन् । मैले सहज रुपमा लिएको छु ।’ उहाँको भनाइ थियो ।




