FAQs Complain Problems

समाचार

महानगर समाचार

बिगत २ बर्षका कार्यक्रम तुलना गरेर हेर्नोस्, परिवर्तन महसुस गर्नुहुनेछ — मेयर शाक्य

जेठ १६

काठमाडौं । बिहीबार वडा ३ नं. वडा समितिको कार्यालय भवन निर्माणका लागि शिलान्यास भएको छ । साविक वडा कार्यालयसँगै रहेको ६ आना जग्गामा निर्माण गर्न लागिएको कार्यालय भवनको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमपछि बोल्दै मेयर शाक्यले — गएको दुई बर्षमा बिगत बर्षको तुलनामा महसुस हुने प्रगति भएको बताउनुभयो । नागरिकका चाहनाअनुसारक अझ पनि धेरै काम गर्न बाँकी छ । यो क्रमागत पद्धति हो । जनतालाई केन्द्रमा राखेर हामी रात दिन काम गरिरहेका छौं । सन्तुलित र एकीकृत बिकास हाम्रो अर्जुन दृष्टि हो, मेयर शाक्यले थप्दै भन्नुभयो — सहरी समृद्धिका लागि २०७४ सालको स्थानीय निर्वाचनमा अरु दलले गरेका घोषणा पत्रमा उल्लेख गरेका काम पनि हामीले बार्षिक कार्यक्रममा राखेका छौं । यी कार्यक्रमको कार्यान्वयनमा हाम्रो नियमित प्रयास हुनेछ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष दीपक के. सी. ले नागरिकले सेवा लिन आउने ठाउँ व्यवस्थित गर्नु, आपत् विपद्का समयमा आश्रय उपलबध हुने ठाउँ (सार्वजनिक) को सुरक्षा गर्नु वडाको दायित्व हो । यो नागरिकको भवन हो । हामी सेवामैत्री भवन निर्माण गरेर जनअपेक्षा पूरा गर्छौ । सोही अवसरमा बोल्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले वडा कार्यालय निर्माण भएपछि प्रहरीको काममा पनि सहयोग पुग्ने धारणा राख्नुभयो । सार्वजनिक सेवा सबैको दायित्व हो, मिलेर काम गरौं प्रसाईको आग्रह थियो ।

अब निर्माण हुने भवन पुरानो भवनसँगै जोडेर बनाइनेछ । तीनतले भवनको भुइँ तलामा ४ वटा चारपाङ्ग्रे र १५ वटा दुई पाङ्ग्रे सवारी साधनको पार्किङ् क्षमता हुनेछ । भवन लिफ्ट, भ¥याङ् र बैठक कक्षसहित अपाङ्गमैत्री हुनेछ । भवनको पहिलो तल्लामा वडा अध्यक्ष, वडा सदस्य र वडा सचिबको कार्यकक्ष, सोधपुछ कक्ष, भ¥याङ् र लिफ्ट हुनेछ । भवनका डिजाइनका बारेमा इञ्जिनियर प्रेमबहादुर श्रेष्ठ भन्नुहुन्छ — भवनको दोश्रो तलामा ६० जना क्षमताको बैठक कक्ष, कार्यालय सञ्चालनका लागि कोठा हुनेछन् । भवन निर्माण सम्पन्न भएपछि प्रशासनिक काम र वडामातहतका अन्य सेवा पुरानो भबनबाट सञ्चालन हुनेछ । इञ्जिनियर श्रेष्ठ भवनको ढाँचाका बिषयमा कुृरा गर्दै भन्नुहुन्छ — अगाडिको मोहडा परम्परागत नेपाली शैलीको हुनेछ । उहाँकाअनुसार वाइबा एण्ड लामा निर्माण सेवालाई भवन निर्माण कार्यका लागि गएको बर्ष जेठ १४ गते नै कार्यादेश दिइएको थियो । निर्माणसम्बन्धि प्राबिधिक बिबादले ठाउँ परिवर्तन गरेर काम अगाडि बढाउन लागिएको हो ।

भ्याटसहित २ करोड ७० लाख ३५ हजार ३२५ रुपैयाँ ८५ पैसा लागत इष्टिमेट गरिएको भवन निर्माणका लागि प्रस्तावक वाइवा एण्ड लामा कम्पनीले २ करोड १५ लाख ४२ हजार ९१४ रुपैयाँ ९५ पैसा मा काम कबोल गरेको छ । यस अघि ४, ८, ९, १४, १८ र २६ वडा समितिको कार्यालय निर्माणका लागि शिलान्यास भइसकेको छ । 

, ,

जेठ १२

 काठमाडौं महानगरको सहरी योजना आयोगमा सरोज बस्नेत उपाध्यक्ष नियुक्त हुनु भएको छ । महानगरको आइतबार बसेको ३३ औं नगर कार्यपालिका बैठकले बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको प्रबक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । बस्नेत यस अघि आयोगको सदस्य सचिव हुनुहुन्थ्यो । गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगर सभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम उहाँलाई उपाध्यक्ष नियुक्त गरिएको हो । ऐनले आयोगको अध्यक्ष महानगरको प्रमुख रहने व्यवस्था गरेको छ । बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अनुमोदन गरेको छ ।

बैठकमा प्रहरीसँगको साझेदारितामा सहरमा राखिने सिसिटिभि क्यामरा जडान गर्न थप २ करोड ८१ लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस अघि यही कार्यक्रमका लागि ३ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

बैठकका अध्यक्ष एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — वडाका योजना कार्यान्वयन गर्दा महानगरसँग समन्वय गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई आग्रह गर्नुभयो । महानगरको सन्तुलित र योजनावद्ध बिकासका लागि आगामी नगर सभामा प्रस्तुत हुने प्रस्ताव वडा समितिबाट अनुमोदन गरेर समयमा नै पठाउनोस्, मेयर शाक्यले थप्दै भन्नुभयो — धेरै काम वडाबाटै गर्नुपर्छ भन्ने मेरो चाहना हो । वडाबाटै काम भए पनि केन्द्रमा जानकारी चाहिँ हुनुपर्छ ।

बैठकमा प्रमुख शाक्यले जेठ २२ स्मार्ट टेक्नोलोजी कम्पिटिसनको समापन कार्यक्रम आयोजना गरिने जानकारी गराउनुभएको थियो ।

समस्या देखाउने होइन, समाधान दिने बिज्ञ चाहियो — मेयर शाक्य

जेठ ८

काठमाडौं । सहरमा उत्पादन भएको घरेलु फोहोरलाई दिगो रुपमा व्यवस्थापन गरेर जलबायु परिवर्तनमा पुग्ने असर रोक्ने प्रतिवद्धतासहित काठमाडौंमा ‘जलबायु परिवर्तनमा फोहोरमैलाले पारेको प्रभाव’ बिषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । महानगरको वातावरण व्यवस्थापन बिभागले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले —सहरमा यस्ता समस्या छन् भनेर देखाउनेभन्दा यो समस्याको समाधान यो हो भनेर देखाउने बिज्ञको खाँचो रहेको देखाउनुभयो । कुनै एउटा बिषय दियो भने घण्टौंसम्म बोल्न सक्ने क्षमता हुन सक्छ । समस्याका चाङ् लगाइदिन सक्ने प्रवृत्ति हुन सक्छ । धेरै बिकल्प देखाउने पनि गर्न सकिन्छ । तर, यो समस्याको समाधान गर्न सक्ने यो नै उपयुक्त बिकल्प हो भनेर देखाउन सक्ने बिज्ञ पाउन सकिएन । मेयर शाक्यले अनुभव सुनाउँदै भन्नुभयो — आम नागरिकसँ जोडिएका समस्या समाधानमा बिकल्प दिने जोकोहीलाई पनि स्वागत छ । तपाईँको सुझावलाई हामी नीतिमा उल्लेख गर्छौं, बजेट व्यवस्था गरेर कार्यान्वयन गर्छौं, आउनुहोस् सुझाव दिनोस् ।

वातावरणीय सुधारका लागि हाी बिद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारीमा छौं । केही बिज्ञ भन्छन् — काठमाडौंमा बिद्युतीय सवारी चलाउन हुँदैन । बिज्ञबाट आएका यस्ता धारणाले काममा अलमल गराइदिन्छ । मेयर शाक्यले सहरी व्यवस्थापन वातावरणीय मुद्दामा कुरा गर्दै — सवारी जाम कम हुनासाथ बायु प्रदुषणमा कमी आएको उल्लेख गर्नुभयो । सहरी समस्या बहुपक्षीय सम्बन्धका हुन्छन् । हामी जिम्मेवारपूर्वक समस्याको समाधानमा जुटेका छौं ।

गोष्ठीमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — सहरी आचरण क्रमशः बनिबनाउ बस्तुको उपभोगमा अभ्यस्त बन्न थालेको छ । प्लाष्टिकजन्य बस्तु मानिसको अभिन्न अङ्ग भइसक्यो । फोहोर मैला व्यवस्थापन भनेको एक पक्षले मात्र काम गरेर व्यवस्थापन हुने होइन । यसको सुधारका लागि व्यक्तिगत आचरण सुधारबाट अघि बढ्नुपर्छ । सहरी समस्या गोलमटोल छन् । समस्या प¥यो भने अरुलाई देखाउन मिल्ने र राम्रो भयो भने आफूले जस लिन सजिलो अवस्था छ । गोष्ठीमा धारणा राख्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — सडक सञ्जाललाई उदाहरणका रुपमा प्रस्तुत गर्नुभयो । सडक कस्ले खन्छ? किन खन्छ? खनेपछि किन पुर्दैन? नागरिकलाई थाहा नै हुँदैन । सहरका सडक बिगार्ने धेरै निकाय छन् तर धुँवा उड््यो भने महानगरले गाली खानुपर्छ । अब हामी सहरी सेवा र पूर्वाधारमा सीमा लगाएर जिम्मेवारी छुट््याउने सोचमा छौं । यसले केही सुधार हुन्छ कि, न्यौपानेले आशा व्यक्त गर्नुभयो ।

गोष्ठीमा वातावरणबिद् भुषण तुलाधरले नगरपालिकामा उत्पादन हुने फोहोरले जलबायु परिवर्तनमा पारेको प्रभावका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै — जैबिक जोहोरबाट ३.६ प्रतिशतले हरित गृह ग्याँस उत्सर्जन हुने बताउँदै यसबाट हुने असर कम गराउन व्यक्तिगत तहबाट काम थालनी गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै फोहोरमैला व्यवस्थापन प्राबिधिक सहयोग केन्द्रका पूर्व कानुन अधिकृत दिपेन्द्र ओलीले — फोहोरमैला व्यवस्थापनका लागि प्रचलित कानुन र वातावरणीय सुधारका लागि यसको प्रभावका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै — फोहोरमैलाको दिगो व्यवस्थापन गर्न तथा फोहोरबाट पर्न सक्ने वातावरणीय नकारात्मक असर कम गराउन परिपक्व कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व वातावरणमन्त्री गणेश शाह र फोहोरमैला व्यवस्थापन केन्द्रका पूर्व महाप्रवन्धक सूर्यमान शाक्यले — दायित्व नलिने प्रवृत्ति र आपसी समन्वय बिना काम गर्ने परिपाटीले व्यवस्था बिग्रिएको धारणा राख्नुभयो । महानगर सहरी व्यवस्थापनमा वातावरणीय पक्षले समस्या सृजना नगरोस् भन्ने चाहन्छ, गोष्ठीमा वातावरण व्यवस्थापन बिभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो — एकजनाले मात्र गर्छु भनेर नहुने रहेछ ।

गोष्ठीमा सरकारी कार्यालय, सुरक्षा निकाय तथा फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

चैत्र २६

काठमाडौं । ब्रुमर खरिद प्रक्रिया अगाडि बढाउने, सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका काम प्रमुख बिद्यासुन्दर शाक्य आफैंले हेर्नेलगायत निर्णय गर्दै महानगरको ३२ औं कार्यपालिका बैठक सम्पन्न भएको छ । बिहीबार महानगरको केन्द्रीय कार्यालय रहेको जेडिए भवनको सभा कक्षमा प्रमुख शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले — फोहोर व्यवस्थापनका लागि बिक्री हुने कम्पोष्ट बिनमा ७० प्रतिशत अनुदान दिएर बिक्री गर्ने, मानव सेवा आश्रमलाई सडकमा रहेका असहायको व्यवस्थापनमा प्रयोग गर्ने गरी सवारी साधन खरिद गर्न सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै अमेरिकाको कोलोराडो राज्यमा रहेको बोल्डर नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न सहमति दिएको छ ।

कार्यपालिका बैठकमा, आजैबाट बिघटन गरिएको सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि गठित अधिकार सम्पन्न समितिकी संयोजक तथा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले अहिलेसम्म सम्पन्न गरेका कामको प्रतिबेदन र सार्वजनिक शौचालय मापदण्डको मस्यौदा प्रमुख शाक्यलाई बुझाउनु भयो । नगर कार्यपालिकाको २८ औं बैठकले उपप्रमुख श्रेष्ठ खड्गीको संयोजकत्वमा प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको दुई छुट्टाछुट्टै अधिकार सम्पन्न समिति गठन गरेको थियो । स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थान अनुसारको डिजाइन एकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने, उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्ताबबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिइएको थियो ।

समितिले अहिलेसम्म गरेका कामको बिषयमा जानकारी गराउँदै बैठकमा उपप्रमुख श्रेष्ठ खड्गीले — महानगरभित्र २८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनमा देखिएको बताउनुभयो । तर शौचालय चलाएर न्युनतम आवश्यकता पूरा गर्न,सबैको समान सहभागिता आवश्यक पर्ने बताउनुभयो । त्यस्तै समितिका सदस्य एवं महानगरका प्रवक्ता ईश्वरमा डंगोलले भन्नुभयो — व्यापार हुने ठाउँमा शौचालय चलाउनेको हानाथाप छ, कम व्यापार हुने ठाउँमा लगानी पनि छैन । व्यवस्थापन पनि छैन । यो अवस्थामा सुधार गर्नुपर्छ । त्यस्तै समितिका सदस्य एवं यात्रु प्रतिक्षालय कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जनले — साझा मत निर्माण गर्न सकिएन भने काम अधुरो हुने खतराप्रति सजग गराउनुभयो ।

Source: kathmanduonline.gov.np

,

चैत्र २७

काठमाडौं महानगरपालिकाले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग रकम प्रदान गरेको छ । बुधबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा पुगेर ४० लाख ३१ हजार ४१३ रुपैयाँ ९५ पैसाको चेक हस्तान्तरण गर्नुभएको हो । यस रकममा महानगरकोतर्फबाट २५ लाख रुपैयाँ र बाँकी रकम जनप्रतिनिधि तथा कर्मचारीकोतर्फबाट १ दिनको पारिश्रमिकबाट संकलन गरिएको हो । रकम हस्तान्तरण अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला पनि उपस्थित हुनुहुन्थ्यो ।

गएको २१ गते महानगरको सभा कक्षमा बसेको कार्यपालिकाको ३१ औं बैठकले हावाहुरीबाट प्रभावितलाई सहयोग रकम प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीसँगको भेटका क्रममा प्रमुख शाक्यले, महानगरले सम्पादन गरिरहेका तथा आगामी योजनामा रहेका कार्यक्रमका बिषयमा जानकारी गराउनुभएको थियो ।

 

शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै महानगरका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिहरु

काठमाडौं । काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईको स्थानमा उनको पूर्ण कदको शालिक अनावरण गरिएको छ । यस बर्षको सहिद सप्ताहका कार्यक्रमअन्तर्गत माघ १० गते खरिवोटमुनि आयोजना गरिएको श्रद्धाञ्जली सभामा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेल र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शालिकको अनावरण गर्नुभएको हो । महानगरको वडा १२ ले १० लाख खर्च गरेर पित्तलको साढे ५ फिट अग्लो पूर्ण कदको शालिक निर्माण गराएको हो । शास्त्रीलाई खरिबोटको उत्तर मोहडामा झण्ड््याइएको थियो । शालिकलाई यात्रुहरुले अनुहार देख्ने गरी पूर्व मोहोडा बनाएर राखिएको छ । शालिक महेश तुलाधरले ४ महिना समय लगाएर तयार पार्नुभएको हो ।

सो कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेलले — सहिदको बलिदानीले अहिलेको प्रणालीमा आइपुगेको प्रसङ्ग उल्लेख गर्दै यस प्रणालीलाई टिकाउन सवै दलको एउटै दृष्टि हुनु पर्ने बताउनुभयो । अहिले सरकार परिवर्तन भएको होइन, प्रणाली परिवर्तन भएको हो । यो प्रणाली स्थापना गर्न सहिदको योगदान बिर्सन नहुने बताउँदै उहाँले भन्नुभयो — प्रणालीलाई संस्थागत गर्न पक्ष र प्रतिपक्ष भएर हुँदैन ।

सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — दलको कुरा गर्ने नपाइने अवस्थामा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुती दिने सहिदहरुको योगदान आफ्ना लागि सिकाइ भएको बताउनुभयो । सहिदहरुको योगदान चीरकालसम्म चर्चामा हुनेछ । हामी पनि लामो समयसम्म चर्चा हुने काम गर्न चाहन्छौं तर धेरै बोलेर काम गर्नै नदिने परिपाटीले हैरान बनाएको छ, मेयर शाक्यले जुन कुरामा पनि नराम्रो मात्र देख्ने परिपाटीमाथि टिप्पणी गर्नुभयो । श्रद्धाञ्जली सभामा धारणा राख्ने क्रममा महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — जनताका कुरा नजिकबाट सुन्न सक्ने तहगत सरकार बन्ने वातावरणका लागि सहिदहरुले गरेको त्यागलाई प्रजातन्त्रको गुरुमन्त्र मान्नु पर्ने बताउनुभयो । अहिले हामीले पाएको शासन प्रणाली र तीन तहका सरकारको प्राप्तिलाई उहाँहरुको योगदानसँग जोडेर हेर्नुपर्छ, उहाँको तर्क थियो । सभामा शुक्रराजको शालिक निर्माणको प्रसङ्ग उल्लेख गर्दै वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलले — प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदका कारण आफू जनप्रतिनिधि हुन पाएकोले, उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न लगाएको बताउनुभयो ।

श्रद्धाञ्जली सभामा संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्य, पूर्व मन्त्री तीर्थराम डंगोल, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य र जनसाधारणको उपस्थिति थियो ।

वि. सं. १९५० सालमा बनासरमा जन्मनु भएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शाशनविरुद्ध जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो । यसै क्रममा काठमाडौंको इन्द्रचोकमा प्रवचनकामाध्यमबाट जनतालाई प्रजातन्त्रका पक्षमा उक्साएको आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । जेल सजायँ भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा, नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो ।

शास्त्रीको श्रद्धाञ्जली सभा भएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।

सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त ममथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते शोभा भगवतीमा सहि गंगाला श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा हुनेछ । त्यस्तै माघ १६ गते सहिद स्मारक लैनचौरमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ ।

, , ,

काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले कर्मचारीहरुको दैनिक कामको अभिलेख र सम्पादन गरिरहेको कामका विषयमा जानकारी राख्न “ई—डायरी” कार्यान्वयनमा ल्याउन सकिने अवधारणा अघि सारेको छ । सहरी योजना आयोगमा यो प्रणाली परीक्षण भइसकेको छ । यसबाट कर्मचारीका नियमित कामबाहेक अन्य कुन कुन काम भए? भेटघाट र छलफल के—के भए? भ्रमण र प्रतिनिधित्व कहाँ भयो भन्ने कुराको अभिलेख तयार हुन्छ । यसबाट कसलाई कस्तो कार्यभार छ? कहाँ कति जनशक्तिको आवश्यकता छ, जस्ता विषयमा निर्णय गर्न गराउन सजिलो हुन्छ । बिहीबार महानगरको सभा कक्षमा प्रस्तुतीकरण गर्दै सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले भन्नुभयो — यस सम्बन्धि कार्यविधि कार्यपालिकाबाट स्वीकृत गराएर प्रणालीलाई कार्यान्वयनमा ल्याउन सकिन्छ ।

प्रस्तुतीकरण सुनिसकेपछिको संक्षिप्त प्रतिक्रियामा मेयर विद्यासुन्दर शाक्यले, प्रणाली परिपक्ब बनेपछि यसका विषयमा बोल्ने बताउनुभयो ।

महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहसचिवहरु, विभागीय प्रमुख, वडा सचिवका बीच गरिएको प्रस्तुतीकरणमा सदस्य सचिव बस्नेतले प्रणालीका विषयमा जानकारी दिँदै थप्नुभयो — यो हरेक कर्मचारी आफैंले विवरण भर्ने प्रणाली हो । यसलाई मोवाइलबाटै भर्न सकिन्छ । यो भर्न कम्तीमा २ मिनेट र बढीमा १५ मिनेटसम्म लाग्न सक्छ । फेसबुक चलाउन जस्तै सजिलो यस प्रणालीमा आफू सहभागी भएको कार्यक्रमको फोटो, त्यससँग सम्बन्धित कागजपत्र र आफूसँग सहभागी भएका अन्य २ जना सहभागीको परिचय खुलाउनुपर्छ ।

प्रस्तुतीकरण सुनिसकेपछि प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले — प्रणालीलाई व्यवहारिक, विश्वसनीय र आवश्यक पर्ने सबै जानकारी प्राप्त हुने ढाँचामा तयार गर्नुपर्ने बताउनुभयो भने सहसचिव डा. टोकराज पाण्डेले — परीक्षणसिद्ध भएपछि मात्र कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभयो । यो प्रणाली कर्मचारी भरेपछि कसकसले हेर्न पाउने हो? त्यसमा भरिएका विवरण कसरी प्रयोग हुने हुन्, प्रणालीको विकासकै क्रममा उत्तर खोज्नुपर्ने सहसचिव भरत अर्यालले बताउनुभयो ।

सहरी योजना आयोगले तयार पार्दै गरेको यो प्रणाली सूचना प्रविधि विभागलाई हस्तान्तरण हुनेछ । यसमा विभागीय प्रमुख, वडा सचिव, इञ्जिनियरहरु र अधिकृत स्तरका कर्मचारीले काम सकेको भोलिपल्ट बिहान ०९ बजेभित्रमा विवरण भरिसक्नु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस अवधिमा विवरण नभरे त्यसदिनका लागि प्रणाली आफैं निष्क्रिय भएर जानेछ ।

,

आउँदो २ बर्षभित्र निर्माण सम्पन्न लक्ष्यसहित, बिहीबार धरहरा पुननिर्माणको शिलान्यास भएको छ । साबिकको धरहरा रहेको स्थान सुन्धारामा आयोजना गरिएको औपचारिक कार्यक्रम माझ प्रधानमन्त्री के. पि. शर्मा ओलीले भूमिपूजन, पुननिर्माण शिलान्यास र ताम्रपत्र अनावरण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ऐतिहासिक महत्व कायम रहने गरी हेर्दा उस्तै तर बलियो धरहरा निर्माण हुन लागेको बताउनुभयो । आधुनिक प्रविधिसहित निर्माण हुने भएकोले यो बलियो हुन्छ । पाको उमेरका मानिस पनि यसको टुप्पामा पुग्न सक्छन् । प्रधानमन्त्री ओलीले भन्नुभयो — त्यहाँबाट काठमाडौंको सुन्दरता हेर्न पाउने र टुप्पामा पुगेका बेला धरहरा ढलेर ज्यान गुमाउनु नपर्ने बताउनुभयो । धरहरा पुननिर्माणसँगै प्रधानमन्त्री ओलीले काठमाडौंको स्वच्छताका विषयलाई पनि प्राथमिकता दिनुभयो । काठमाडौंलाई सफा, सुन्दर र हरियाली बनाउन महानगरलाई नागरिक र विकास साझेदारले साथ दिनु पर्ने उहाँको भनाइ थियो ।

धरहरा पुननिर्माण गर्ने क्रममा धेरै मुद्दा मामिला छन् । यीमध्ये केही संस्थाका नाममा छन् केही व्यक्तिले खेप्नु पर्ने छन् । कार्यक्रममा कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — यसमा आफू विरुद्ध पनि मुद्दा रहेको खुलाउनुभयो । यसका बाबजुद निर्धारित समयमा निर्माण सम्पन्न गराउन महानगरले खेल्नु पर्ने भूमिकामा कमी नहुने उहाँको भनाइ थियो । काठमाडौं महानगरसँग महानगरबासीले सम्पदाको पुननिर्माणसँगै सहरी व्यवस्थापनका धेरै पक्षमा सुधारको अपेक्षा गर्नुभएको छ । मेयर शाक्यले थप्दै भन्नुभयो — हामी सहरलाई धुलोमुक्त बनाउन सडक बढार्ने र पखाल्ने काम गर्छौं । निर्माण कार्य गर्ने व्यवसायीले सडकमा धुलो पोख्दै सवारी गुडाउनुहुन्छ । यो काम धरहरा पुननिर्माणका क्रमममा देखिनु हुँदैन । यससँगै धरहरा पुननिर्माण कार्यले स्थानीय भावना, कला संस्कार र संस्कृतिमा चोट पुग्नु हँुदैन ।

उद्घाटन समारोहमा बोल्दै पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले — धरहरा पुननिर्माणलाई सबैले स्वीकार गर्न सक्ने बनाउने कुरामा आफू सचेत रहेको बताउनुभयो । यस क्षेत्रबाट शव यात्रा गराउने बाटो छ, त्यो कुरासमेतलाई हामी संरचनामा समेट्छौं, उहाँको भनाइ थियो ।

२०७२ फागुन ४ गतेको ’ऐतिहासिक धरोहर पुनर्निर्माणमा संकल्प’ कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गर्नुभएको थियो । नागरिकको रकमबाट धरहरा निर्माणको उद्घोेष गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब ६१ हजार ८ सय २० रुपैयाँ पुनर्निर्माण कोषको खातामा हाली विदेशस्थित नेपालीसँगसमेत सहयोगको आग्रह गर्नुभएको थियो । यसपछि विभिन्न संघसंस्था र व्यक्तिले धरहरा पुनर्निर्माण कोषमा रकम जम्मा गरेअनुसार यस अवधिमा करिब २४ करोड रुपैयाँ सङ्कलन भएको छ । तर, ३ वर्षको यो अवधिमा धरहरा पुननिर्माण शुरु हुन सकेन । अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाईमा धरहरा पुननिर्माण शुरु भएको छ । ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २ सय ४० रुपैयाँ लागत भएको यो परियोजना जिआइइटीसि रमन जेभी कम्पनीले पाएको छ ।

अब निर्माण हुने धरहरा ७९ दशमलव २ मिटर (२५७.४ फिट) अग्लो हुनेछ । बाहिरबाट ११ तलामा धरहराको भित्र भित्र २२ तला हुनेछन् । तीमध्ये २० औं तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एक पटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ । लिफ्टमा चढेर २० औं तलामा पुगेपछि त्यहीबाट काठमाडौं अवलोकन गर्ने कक्षको व्यवस्था हुनेछ । त्यो कक्षमा एक पटकमा ५४ जना अट्नेछन् । त्यसको भुइँ तलामा धरहरासम्बन्धि संग्रहालय हुनेछ । भूकम्पका क्रममा भत्किएको धरहराको ठूटोलाई शिशाले घेरेर राखिनेछ ।

धरहराको बेसमेन्टमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने पार्किङ् हुनेछ । त्यस्तै परिसरमा बगैंचा र पानीको फोहोरा सञ्चालन हुनेछ । पानीको फोहोरा ५० फिट अग्लो हुनेछ ।

धरहराको पुननिर्माा सकिएपछि यसलाई बसन्तपुरसँग जोडेर पर्यटन व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको छ ।

, ,

काठमाडौंं । काठमाडौंको चक्रपथमा मोनो रेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न चीनको चाइना रेल वे २५ औं व्युरो ग्रुप कम्पनीसँग बुधबार सम्झौता भएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक कार्यक्रमबीच महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वे कम्पनीका ओभरसिज बिजनेस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङ्बिङ्बीच सम्झौता भएको हो । विस्तृत परियोजना प्रतिवेदनमा माटो परीक्षणसहित वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) गर्ने, मोनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनका चरण र लाभ विश्लेषण हुनेछ । विस्तृत परियोजना प्रतिवेदनमा प्राप्त भएको विवरण पूर्ण वा आंशिक स्वीकार गर्ने अधिकार काठमाडौं महानगरको हुनेछ । डिपिआर तयार पार्दाको लागत सिसिआरसिले नै व्यहार्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — मोनोरेल सञ्चालन गर्नु हाम्रा लागि नौलो कुरा हो । हामीले चुनावी घोषणा पत्रमा मोनोरेल सञ्चालनका विषयमा जे भनेका थियौं, त्यसै बमोजिम नै काम गरिरहेका छौं । अहिलेसम्म यो विषय जान्ने प्राबिधिक जनशक्तिको अभाव थियो । त्यसैले भनेको समयमा परिणाम देखाउन नपाइएको हो । तर काम रोकिएको छैन । उहाँले लागत सहभागिताको सन्दर्भ उठाउँदै भन्नुभयो — विस्तृत परियोजना प्रतिवेदन तयार पार्दा लाग्ने खर्च सिसिआरसिले नै व्यहोर्ने छ । यसमा महानगर वा सरकार कसैको पनि लागत सहयोग छैन । समारोहमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले — सोचेकोभन्दा छिटो र आफ्नै कार्यकालमा मोनोरेल सञ्चालन हुने आशा व्यक्त गर्नुभयो । काठमाडौंमा मोनोरेल चलाउने हाम्रो प्रतिवद्धता हो, त्यसलाई पूरा गर्छौ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भाग लिने क्रममा सहरी यातायात सुधारका लागि मोनोरेल चलाउने प्रतिवद्धता अब पूरा हुन्छ, कार्यक्रमलाई सम्बोधन गर्दै महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — मोनोरेल चलाउने बिषयमा सबैबीच साझा मत रहेको धारणा राख्नुभयो ।

हामी तोकेको समयभन्दा अगावै र सोचेकोभन्दा गुणस्तरीय ढङ्गबाट जिम्मेवारी पूरा गर्छौ । कार्यक्रममा बोल्दै रेल वे कम्पनीका ओभरसिज बिजनेस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङ्बिङ्ले — सम्भाव्यता अध्ययन कार्य पनि तोकेको समय अगावै सम्पन्न गरेको विगत सुनाउनुभयो ।

काठमाडौंमो मोनोरेल सञ्चालनका लागि यस अघि सिसिआरसिले नै सम्भाव्यता अध्ययन गरेको हो । आर्थिक, प्राविधिक तथा सहरी यातायात व्यवस्थापनको दिगोपना जस्ता पक्षमा गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन गएको भदौ २८ गते महानगरलाई बुझाएको थियो । मोनोरेल निर्माण, सञ्चालन, व्यवस्थापन अध्ययनका आधार थिए । सम्भाव्यता अध्ययनले गौशालादेखि चावहिलसम्म सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गरे विस्तारित चक्रपथमा पैदल मार्गभित्रको दोश्रो लाइनमा मोनो रेल चलाउन सक्ने देखाएको छ । विस्तृत परियोजना प्रतिवेदन पनि यसैका आधारमा तयार हुनेछ ।

सम्भाव्यता अध्ययनका लागि २०७५ बैशाख २० गते आशय पत्र बुझाएको कम्पनीसँग महानगरले जेठ ११ गते सम्झौता गरेको थियो । सम्झौताबमोजिम अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो तर कम्पनीले तोकिएको समयभन्दा ३ महिना अघि नै अध्ययन सम्पन्न गरेको हो । साढे २७ किलोमिटर चक्रपथमध्ये ललितपुर महानगर क्षेत्रमा करीव १० किलोमिटर सडक पर्छ । चक्रपथ अहिलेको अवस्था आँकलन गरि ३ चरणमा निर्माणका काम गर्दा उपयुक्त हुने सम्भाव्यता अध्ययनले देखाएको छ । भर्खरै चक्रपथ सुधार एवम विस्तार भएको कोटेश्वरदेखि कलंकी खण्डमा पहिलो चरणमा, कलंकीदेखि महाराजगञ्जसम्म दोश्रो चरणमा र महाराजगञ्जदेखि कोटेश्वरसम्म तेश्रो चरणमा काम गर्दा उपयुक्त हुन्छ । त्यस अध्ययनले देखाएको लागत अनुमान करीब १ खर्ब १६ अर्ब रुपैयाँ हो ।

महानगरका प्रमुख शाक्यका अनुसार यो परियोजना लगानी, इञ्जिनियरिङ्, निर्माण, सञ्चालन व्यवस्थापन र हस्तान्तरण मोडेलमा अघि बढाइएको परियोजना हो । यसमा निर्माण पक्षले नै लगानी गर्ने, ढाँचा तयार पार्ने, निर्माण गर्ने, सञ्चालन व्यवस्थापन गर्ने काम गर्छ र निश्चित समयपछि सरकारलाई हस्तान्तरण गर्छ ।

 

,

सहरी समस्याको प्रविधिमा आधारित समाधान खोज्ने प्रयासमा महानगर

काठमाडौं । विद्यमान सहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौं महानगरले बुधबारबाट “स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८— स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” कार्यक्रम शुरु गरेको छ । समुदाय तथा वातावरण, सहरी पूर्वाधार बिकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन ४ क्षेत्र प्रतिस्पर्धाका मुख्य विषय हुन् । अवसरको अभावका बिकल्प सोचेर बसिरहेका युवाहरुलाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने आशा जगाउन उद्यमशीलता प्रबद्र्धन गर्न सक्ने सामुहिक प्लेटफर्मका रुपमा कार्यक्रम शुरु गरिएको हो । “हाम्रो काठमाडौं, हामी बनाउँछौं” नारा दिइएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” को शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — “काठमाडौं च्यालेन्ज डट ओआरजि” वेभपेज सार्वजनिक गर्नुभयो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख शाक्यले भन्नुभयो — हामीले अधिकांश समय स्मार्ट शव्दको प्रयोग गरिरहेका हुन्छौं । यो शव्द सहर बनाउने कुरामा मात्र होइन, व्यक्ति—व्यक्तिमा पनि स्मार्टनेसको कुरा आउँछ । धेरै समयको तयारी पछि सहरी समस्याको समाधान खोज्न सहरी योजना आयोगमार्फत नयाँ सोचको खुल्ला छलफल गर्ने थलो बनाएका छौं । यसले विकासमा सहभागिता, साझेदारिता बढाउँछ र प्राप्त उपलब्धीमा दायित्व बोध गराउँछ । प्रमुख शाक्यले — सहरी समस्या समाधानमा यसो गर्न पाए हुन्थ्यो वा म त्यो ठाउँमा पुगेको भए यसो गर्थें भनेर सोच्नेहरुलाई सोच लिएर आउन आग्रह गर्र्नुभयो । कार्यक्रममा बोल्ने क्रममा महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — महानगरको कार्यक्रमले युवाहरुलाई देशमै केही हुन थाल्यो भन्ने सन्देश सञ्चार हुने विश्वाश व्यक्त गर्नुभयो । हामी जिम्मेबार भएर काम गर्न खोजिरहेका छौं, उपप्रमुख श्रेष्ठ खड्गीले थप्नुभयो — हाम्रो काममा सहभागी हुन चाहने सबैलाई खुल्ला आमन्त्रण गर्दछौं ।

प्रतिस्पर्धामा सहभागी हुन नेपाली नागरिक हुनुपर्छ, ऊ स्वदेश वा विदेश जहाँबाट भए पनि भाग लिन सक्छ । सहभागिताका विषयमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले — सरकारी तहबाट यो पहिलो प्रयास भएको उल्लेख गर्नुभयो । संघ सरकारले पनि यसप्रकारका कामका लागि रकम छुट््याएको छ । त्यसको कार्यान्वयनका लागि पनि महानगरको प्रयास सिकाइ बन्न सक्छ, यहाँको भनाइ थियो ।

यस प्रकारका प्रतिस्पर्धाहरु निजी क्षेत्रबाट अभ्यास भएका छन् । बिदेशमा पनि यस्ता कार्यक्रम आयोजना हुन्छन् । तर हामी बिदेशी ढाँचाको होइन नेपाली समाज, यहाँको भूगोल र आवश्यकता अनुसारका सोच चाहन्छौं, कार्यक्रममा महानगरको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतको भनाइ थियो । प्रतिस्पर्धाबाट साधारण तर नौला र केही जटिल तर सम्भब हुने गरी दुई किसिमका प्रविधिहरुको अपेक्षा गरिएको छ, सदस्य सचिव बस्नेतको भनाइ थियो । प्रतिस्पर्धाको शुरुवात्मा एउटै समूहले धेरै सोच दर्ता गर्न सक्छन् । पछि एउट समूहको दुई वा त्योभन्दा धेरै सोच छनौटमा परे भने उनीहरुले अन्त्यमा एउटा मात्र सोच रोज्नुपर्छ । यङ् इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत विभुषण बिष्टले जानकारी दिनुभयो । यस प्रतिस्पर्धामा इनोभेसन्ससँगै नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, दायित्व, अन्तर प्रेरणा, ग्लोवल इन्टरप्रेनरसिप नेटवर्क, कारखाना र किन्स कलेज नोलेज पार्टनरका रुपमा सहभागी छन् ।

प्रतिस्पर्धाका चरण

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका सहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ । महानगरले प्रतिस्पर्धाबाट यसप्रकारका प्रतिफलको अपेक्षा गरेको छ । त्यस्तै महानगरपालिकाले प्रदान गर्ने सेवामा चुस्तता एवं पारदर्शिता कायम हुने र सामाजिक न्यायमा आधारित सुविधा वितरणमा सहयोग पुग्ने आशा गरिएको छ ।

प्रतिस्पर्धाका मूख्य ४ विषय र त्यसभित्र पर्ने २८ क्षेत्रमा प्रतिस्पर्धीले नविन सोच प्रस्तुत गर्नेछन् । ६ चरणमा सम्पन्न हुने प्रतिस्पर्धामा सोच छनौट गर्दा बिषयको महत्व, उत्पादन क्षमता, ब्यवसायिक नमूना, बिस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानिएको छ । तोकिएको मापदण्ड अनुसार मुल्यांकन गरी कुल अंकमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने समूह बिजेता बन्नेछ ।

पहिलो चरणमा कम्तीमा १०० वटा नविन सोच भएका युवाहरुको समूहहरुलाई छनौट गरि बिज्ञ समूहबाट करिब ३ महिना नियमित तालिम दिइनेछ । तीमध्ये ४ विषयका २४ समूह प्रतिस्पर्धी अन्तिम चरणमा पुग्नेछन् । उनीहरुलाई प्रदान गरिने विशिष्ट प्रकारको तालिमबाट सोचमा निखार ल्याइनेछ ।

सोच आउँदो पुष ३० गतेभित्र वेभपेजमार्फत दर्ता भइसक्नुपर्नेछ । यो प्रतिस्पर्धा ६ महिना लामो हुनेछ ।

पुरस्कार

उत्कृष्ट सोचलाई अर्थात् च्यालेन्जको विजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका ४ वटा विषयगत विजेतालाई प्रति समूह २ लाख रुपैयाँ र उपबिजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

, ,

Pages