16 Chaitra 2080 , Friday

Cultural City, Kathmandu Metropolitan City

Online tax payment

Cultural City, Kathmandu Metropolitan City

News

वडा ४ मा पुस्तकालय र ज्येष्ठ नागरिक मिलन केन्द्रको शुभारम्भ

जनताले दिएको जिम्मेवारी इमान्दार भएर पूरा गरिरहेका छौँ — मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरको वडा ४ नयाँ कोलोनीमा पुस्तकालय र ज्येष्ठ नागरिक मिलन केन्द्र शुभारम्भ गरिएको छ । सार्वजनिक जग्गा संरक्षण गरेर त्यस ठाउँमा यी सेवा सुरु गरिएका हुन् । आज संघीय संसद सदस्य एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

उद्घाटन अघि उहाँहरुले जलपादेवी मार्ग, शिवप्रिया मार्ग, नमस्ते कोलोनीसहित नव टोल सुधार समिति र रारा समाजको क्षेत्रमा भएका पूर्वाधार विकासको अवलोकन निरीक्षण गर्नुभएको थियो । त्यस क्रममा सडक कालोपत्रे र ढलान, पर्खाल निर्माण, सीसीटिभी क्यामरा जडानलगायतका काम हेर्नुभएको थियो ।

कार्यक्रममा संघीय संसद सदस्य एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले, सार्वजनिक जग्गा संरक्षण गरेर त्यही ठाउँमा सार्वजनिक उपयोगमा आउने पुस्तकालय र ज्येष्ठ नागरिकहरु भेटघाट गर्ने ठाउँ बनाउनु महत्वका दृष्टिले ठूलो भएको उल्लेख गर्नुभयो । सार्वजकि भलाइको काम गर्नु राजनीतिक नेतृत्वको दायित्व हो । वडा ४ ले यसैप्रकारका काम गरेको छ । वडाका योजनालाई संघ सरकारको संसदको ठाउँमा बसेर मैले पनि सहयोग गरेको छु ।

त्यस क्रममा बोल्दै महानगरका मेयर शाक्यले, जनताले निर्वाचनमार्फत आफूलाई दिएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गरिरहेको बताउनुभयो । ‘हामी काठमाडौँलाई नयाँ सहर बनाउन सक्दैनौँ । जुन अवस्थामा छ, त्यसैलाई व्यवस्थापन गर्ने हो । यसलाई सन्तुलित बनाउन हामीले चुनावमा जे गर्छौँ भनेका थियौँ । त्योभन्दा धेरै गरेका छौँ ।’ आफूले सम्पन्न गरेका कामका बारेमा कुरा गर्दै मेयर शाक्यले गर्न नसकिएका काममा बारेमा पनि कुरा गर्नुभएको थियो । ‘चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ । चक्रपथ विस्तारको काम नसकिएकोले योजना कार्यान्वयनमा आउन सकेन । तीनकुनेमा पार्क बनाउने भनेका थियौँ । जिल्ला प्रशासनबाट पूरा हुनुपर्ने मुआब्जाको काम नसकिएकोले योजना अघि बढ्न सकेन ।’

वडा ४ ले करीव ७२ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ । यसमा १४ वटा पार्क निर्माण भएका छन् । वडाध्यक्ष मोहनबहादुर विष्टले भन्नुभयो, ‘सार्वजनिक जग्गा जोगाउन काम थाल्नेवित्तिकै मुद्दा खेप्नु परिहाल्छ ।’ वडाध्यक्ष विष्टकाअनुसार पुस्तकालय बनाइएको ठाउँमा दमकल सेवा सञ्चालन गर्ने लक्ष्य थियो । ठाउँ अपुग भएपछि योजना परिवर्तन गर्नुपरेको हो ।

जनताबाट एकपटक अनुमोदित भएर काम गर्ने अवसर पाएको बताउँदै वडा सदस्यहरु ध्रुव त्रिपाठी र दिनेश महर्जनले कामको मूल्याङ्कन गरेर सुधार गर्ने अवसर दिन टोलबासीसँग आग्रह गर्नुभयो ।

source- kathmanduonline.gov.np