13 Baishakh 2081 , Thursday

Cultural City, Kathmandu Metropolitan City

Online tax payment Skill Registration Form

Cultural City, Kathmandu Metropolitan City

News

महानगरका १४ वटा विद्यालयमा कोड क्लव गठन : उपप्रमुख डंगोलबाट शितला माविमा शुभारम्भ

काठमाडौँ । शितला माध्यमिक विद्यालय, बोहोराटार, (काठमाडौँ महानगरपालिका वडा नं. १६) मा आज कोड क्लव गठन भएको छ । बुक फ्रि फ्राइडे कार्यक्रम निरीक्षणका लागि विद्यालय पुग्नुभएकी महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले क्लव शुभारम्भ गर्नुभएको हो ।

क्लबका विद्यार्थीहरू खेल मैदानमा फुटबल खेले जसरी, बास्केटबल र टेवुलटेनिस खेले जसरी रमाउँदै  कप्युटरबाट नयाँ कार्यक्रम बनाउँछन् । कोडिङ गर्छन । एनिमेसन गर्छन । साधारण खालका प्रोग्रामिङ गर्छन ।

यसको आधार स्क्याच कोडिङ् हो । यसरी निर्माण गरिएका कार्यक्रमहरू १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । यही प्लेटफर्मबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ ।

कोड क्लब अहिले महानगरका १४ वटा सामुदायिक विद्यालयमा सुरु भइसकेको छन । यसलाई विस्तार गरेर सबै सामुदायिक विद्यालयमा गठन गर्ने योजना छ ।

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ । यस कार्यक्रमका लक्षित विद्यार्थी कक्षा ४ देखि ९ सम्मका हुन् । क्लबका क्रियाकलापमा सम्लग्न बालबालिकामा शैक्षिक तथा सोच विकास र आलोचनात्मक बिचार निर्माणमा सघाउ पुग्नेछ । सञ्चालित कार्यक्रमको नतिजाका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को धारणा छ ।

क्लवका विद्यार्थीहरुले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्छन् ।  यसबाट विद्यालयको परिचय विश्व सामु पुग्नेछ ।

अहिले सामुदायिक विद्यालयका शिक्षकहरूमा डिजिटल साक्षरता बढेको छ । यस्तै गुगल वर्क स्पेसमा शैक्षिक क्रियाकलाप तथा शिक्षण सिकाइ प्रक्रिया थालिएका छन् ।

आजको निरीक्षणमा उपप्रमुख डंगोलसहित प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, शिक्षा सल्लाहकार रेशु अर्याल, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारी सहभागी हुनुहुन्थ्यो ।

शितलासहित अहिलेसम्म १४ वटा सामुदायिक विद्यालयमा कोड क्लव गठन भइसकेको छ ।

यस विद्यालयमा शिक्षामा सिप कार्यक्रमअन्तर्गत सौन्दर्य कला र हेयर स्टाइल (कपाल शैली) सिकाइ भइरहेको छ । सौन्दर्य कला सम्बन्धी कार्यक्रममा छात्रछात्रा दुवै सहभागी भएकाले विद्यार्थीहरुमा बृहत्तर बुझाइ हुने प्रमुख शाहले अपेक्षा व्यक्त गर्नुभएको छ । विद्यालयमा बुक फ्रि फ्राइडे अन्तर्गत स्काउट, नेपाल भाषामा सङ्गीत लगायत सिकाइ हुने गरेको छ ।

तरुण माध्यमिक विद्यालयमा आज बुक फ्रि फ्राइडे अन्तर्गत नेपाल भाषाको संगीत, चित्रकला, हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भए । यहाँ सिपमूलक तालिमअन्तर्गत मोवाइल र विद्युतीय सामग्री मर्मत गर्ने, कृषि तथा सहरी खेती र पाक कलाको कक्षा भइरहेको छ ।

निरीक्षणपछि उपप्रमुख डंगोलले, प्रतिस्पर्धी जमानाका लागि व्यवहारिक शिक्षाको आवश्यकता पूरा गराउन नयाँ सिकाइ पद्धति कार्यान्वयनमा ल्याइएको बताउनुभयो । बालबालिकालाई किताबमा सीमित गराइयो भने विद्यार्थीहरुलाई शिक्षाको वृहत्तर आकृति देखाउन सकिँदैन । यसबाट बाहिर आउन बुक फ्रि फ्राइडे लाभदायी हुनेछ । उपप्रमुखले अपेक्षा गर्नुभयो ।

कार्यक्रम सञ्चालनपछि प्राप्त प्रतिक्रियाबाट महानगर कार्यक्रमको नियमितताका लागि उत्साहित भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।

शिक्षा विभागका प्रमुख, शिक्षा अधिकृतहरु, विद्यालय निरीक्षकहरुको टोलीले ज्ञान रश्मी माध्यमिक विद्यालय, महेन्द्र बौद्ध मा. वि., बौद्ध, नवजागृति माध्यमिक विद्यालय, बाँसबारी मा. वि., महेन्द्र राष्ट्रिय मा. वि. र धुम्रबराह मा. वि. को निरीक्षण गरिएको छ । यसैगरी बाल सेवा मा. वि. झोःछेँ, नवआदर्श मा. वि. बसन्तपुर, शान्ति निकुञ्ञ मा. वि. को निरीक्षण गर्नुभएको छ । यस्तै सञ्चार विभागबाट पत्रकार÷सञ्चारकर्मीहरुले रत्नराज्य मा. वि., शारदा मा. वि. लगायत विद्यालयको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा बुक फ्रि फ्राइडे अन्तर्गत हुने गरेका क्रियाकलाप, यस्ता क्रियाकलापमा विद्यार्थीहरुको रुचि, सिपमुलक तालिम सञ्चालन विधिलगायत पक्ष हेर्ने गरिएको छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार आउँदो शुक्रबारभित्र सिपमुलक कार्यक्रम सञ्चालन भएका सबै विद्यालयको निरीक्षण गरिसक्ने योजना रहेको बताउनुभयो ।