५ बैसाख २०७८ , आइतबार

साँस्कृतिक सहर, काठमाडौं महानगर

Old Website

साँस्कृतिक सहर, काठमाडौं महानगर

काठमाडौँ महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, वाग्मती प्रदेश

समाचार

तारा देवी सम्मानबाट ३ स्रष्टा सम्मानित, गायनबाट विश्व रेकर्ड राख्ने वहालवाला मन्त्री मानन्धरलाई विशेष सम्मान

हामीले नव कलाकारलाई मञ्च र विशिष्ट कलाकारलाई सम्मान गर्ने नीति लिएका छौं – मेयर शाक्य

तारादेवी स्मृति फाउन्डेसनले १५ औं स्मृति दिवसका अवसरमा ३ जना स्रष्टालाई सम्मान गरेको छ । हिजो महाराजगञ्जमा आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गर्नुभएको हो । सम्मानित हुनुहुृनेमा गीतकार स्व. भैरवनाथ रिमाल कदम’, संगीतकार स्व. गणेश परियार र गायिका ज्ञानु राणा हुनुहुन्छ । गीतकार रिमालको गएको पुस २५ गते र संगीतकार परियारको माघ ४ गते निधन भएको हो । उहाँहरुको निधन हुनु अघि नै फाउन्डेसनले सम्मान गर्ने निर्णय गरिसकेको थियो । स्व. रिमालको सम्मान उहाँकी छोरी रेखा ढकालले र स्व. परियारको सम्मान उहाँकी नातिनी मरिया परियारले ग्रहण गर्नुभएको थियो । उहाँहरुलाई मेयर शाक्य, राज्यमन्त्री रामवीर मानन्धर, फाउन्डेसनका अध्यक्ष दीपक के. सी., नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटाले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो । फाउन्डेसनकी उपाध्यक्ष वरिष्ट अभिनेत्री भुवन चन्द थापा पनि त्यस क्रममा सहभागी हुनुहुन्थ्यो ।  सम्मानितहरुलाई जनही २५ हजार १ रुपैयाँ प्रदान गरिएको थियो भने दोसल्ला ओडाएर ताम्र पत्र प्रदान गरिएको थियो ।  

त्यस अवसरमा बहालवाला सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले नियमित करीब ४ घण्टा २० मिनेट बढी लगातार गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउनुभएकोमा विशेष सम्मान प्रदान गरियो । यसै गरी स्थानीय सेवामा उल्लेख्य काम गरेकोमा वडाध्यक्ष दीपक के. सी. लाई सम्मानित गरिएको थियो । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सम्पन्न कार्यक्रम राष्ट्रिय सभा गृहमा आयोजना गर्ने तयारी थियो । राजनीतिक कार्यक्रमले भृकुटीमण्डप क्षेत्रमा आवातजावत असामान्य बनेपछि वडा ३ कार्यालय भवनको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा मेयर शाक्यले, महानगरले नयाँ कलाकारलाई मञ्च र पुराना कलाकारलाई सम्मान गरेर कला जोगाउने प्रयास गरेको बताउनुभयो । यो हामीले दायित्वभित्रको काम गरेका हौं ।उहाँले भन्नुभयो — ‘काठमाडौंमा जातीय समुदायले धानेका परम्परागत बाजागाजाको संरक्षण, सम्बर्धन र प्रवर्धनका लागि हामीले गुरुहरुलाई जनही ३० हजार नगदसहित सम्मान गरेका छौं । यो रकम ठूलो होइन तर सरकारको सहभागिता भने ठूलो हो । यो निरन्तर चलिरहनेछ ।कला बचाउन स्रष्टा बचाउनु पर्ने तथ्य आफूलाई महसुस भएको बताउँदै मेयर शाक्यले, महानगरको लगानी हुने ठाउँमा विवाद हुनु नहुने बताउनुभयो । सबै कलाकार एउटै आवाज र एउटै मञ्चमा हुने हो भने तपाईँहरुका लागि हामी लगानी गर्छौं । तर, त्यहाँ पक्ष विपक्ष हुनुहुँदैन । शाक्यको भनाइ थियो ।

त्यस क्रममा फाउन्डेसनका सल्लाहकारसमेत रहनुभएका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले, कलाकारलाई रोयल्टीले बचाउने कुरा सबैतिरबाट मनन गरिनु पर्ने बताउनुभयो । अहिले सार्वजनिक सवारी साधन नविकरण गर्दा उनीहरुले गीत बजाएवापत रकम तिरेका छन् । रेडियो र टेलिभिजनले रोयल्टीवापतको शुल्क तिरेका छन् । यसरी संकलन भएको शुल्क कसको हातमा कति परेको छ? यसको खोजी हुनुपर्छ ।राज्यमन्त्री मानन्धरले भन्नुभयो, ‘यसको व्यवस्थापनका लागि म पहल गर्नेछु ।त्यस अवसरमा उहाँले नारायण गोपाल र तारादेवीको युगल आवाजमा रहेको लुकँ लुकँु लाग्यो मलाई ….बोलको गीत गाउनुभएको थियो । उहाँलाई सरिता शाहीले साथ दिनुभएको थियो ।

काठमाडौं महानगरले तारादेवी फाउन्डेसनमा २० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको छ । नारायण गोपालको अधुरो चाहना पूरा गराउन करीब ६ करोड रुपैयाँ लगानीमा ‘‘गीत गंगा अडिटोरियम’’ निर्माण गर्दैछ । कार्यक्रममा फाउन्डेसनका महासचिव सोमन सैँजुले महानगरको अभिभावकीय नेतृत्वबाट न्यानो महसुस भएको बताउनुभयो । त्यसै गरी कोषाध्यक्ष रमेश थापाले, महानगरको सिकाइ अन्य स्थानीय सरकारले गर्ने हो भने कला जोगाउन ठूलो सहयोग हुने धारणा राख्नुभयो । दीपक के. सी. र रामवीर मानन्धरको प्रयत्न नभएको भए तारादेवी फाउन्डेसन नहुने र महानगरका प्रमुखको साथ नभएको र्भए कार्यक्रम अघि बढ्न नसक्ने अवस्था भएको थापाको भनाइ थियो ।

कार्यक्रममा ज्ञानु राणा, सरिता शाही, गीता पाण्डे, एञ्जेला श्रेष्ठ, सुजाता बर्मा, प्राश्ना शाक्य, एन्जेला श्रेष्ठ, लाबोनी चक्रवर्ती, राजिव परियार, सरस्वती मानन्धर, धर्मरत्न मानन्धर, किशोर विश्वकर्मा, मनिता राईलगायत गायक गायिकाले तारादेवीका गीत गायकी प्रस्तुत गर्नुभएको थियो । त्यस क्रममा आस्था कला केन्द्रका नव गायकगायिकाको प्रस्तुति पनि राखिएको थियो ।

स्वर किन्नरी तारा देवीका कालजयी गीतहरुको संरक्षण र प्रवर्धन गरी नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले २०७५ सालमा तारा देवी स्मृति फाउण्डेसन स्थापना गरिएको हो ।

Source – kathmanduonline.gov.np