पहिलो चरणमा सात प्रदेशका सात पालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने योजना : मेयर शाक्य
काठमाडौँ । वागमती प्रदेशका दुई नगरहरु काठमाडौं महानगर र मेलम्ची नगथरबीच भगिनी सम्बन्ध सम्बन्ध स्थापना भएको छ । पुष २१ गते काठमाडौंमा आयोजना गरिएको एक औपचारिक समारोहमा महानगरका मेयर विद्यासुन्दर शाक्य र मेलम्ची नगरका मेयर डम्वरबहादुर अर्यालले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो । सहमति पत्रमा हस्ताक्षर गरेपछि घोषणा पत्रमा हस्ताक्षर गरेर अन्तर नगर भगिनी सम्बन्धलाई औपचारिकता दिइएको हो ।
काठमाडौंमा वितरण गरिने खानेपानी मेलम्चीबाट ल्याउने बहुप्रतिक्षित आयोजनाका कारण करीब २० बर्षदेखि काठमाडौंसँग मेलम्चीको नाम जोडिँदै आएको थियो । दुई नगरविच भगिनी सम्बन्ध स्थापना भएपछि अनौपचारिक सम्बन्धले औपचारिकता पाएको छ ।
सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले, खानेपानी आयोजना, पर्या—पर्यटन, कृषि तथा पशुजन्य खाद्य उत्पादनलगायत जनजीविकाका धेरै क्षेत्रमा दुईनगरबिच लामोसमयदेखिको अनौपचारिक सम्बन्धले औपचारिकता पाएसँगै दुवै नगरका जनतामा प्रत्यक्ष लाभ पुग्ने विश्वाश व्यक्त गर्नुभयो । ‘अहिले काठमाडौंमा जताततै खनिएका सडकसँग मेलम्ची खानेपानी आयोजनाको नाम जोडिएको छ । यो आयोजना नसकिएकाले सहरमा धुँवा र धुलो नियन्त्रण गर्न सकिएन । त्यसैले काठमाडौंको व्यवस्थापनका लागि खानेपानी आयोजना सम्पन्न गर्ने काममा मेलम्ची नगरको सहयोग प्राप्त हुनेछ ।’ महानगरले स्थापना गरेको देशभित्रका अन्तर नगर भगिनी सम्बन्धका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘काठमाडौं व्यवस्थापनको औपचारिक जिम्मेवारी महानगरको हो । यसमा देशभित्रका अन्य नगरको पनि अनौपचारिक जिम्मेवारी छ । यसकारण काठमाडौंले अन्य नगरको समृद्धिलाई भगिनी सम्बन्धमार्फत सँगै लिएर जान चाहेको हो । महानगरको समृद्धिमा सबै नगरबाट सहयोगको अपेक्षा गरेका छौं ।’
अन्तरनगर आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत नागरिकको आय आर्यजनमा टेवा पुग्ने, जीविकोपार्जन र आपसी हित प्रवर्धन हुने, साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणका लागि थप प्रयास हुने अपेक्षा रहेको मेयर शाक्यको भनाइ थियो ।
महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत हरियाली प्रर्वद्धन र पार्क निर्माणका लागि काठमाडौँका १० वटा र मध्यपुर थिमी नगरपालिका प्रत्येकलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । यसैगरी भगिनी सम्बन्ध स्थापना भएका रामग्राम, चन्दननाथ र मेलम्ची नगर प्रत्येकलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
मेयर शाक्यकाअनुसार महानगरले स्थापना गरेको भगिनी सम्बन्धलाई महानगरबासीले प्रशंशा गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका मेयर अर्यालले काठमाडौसँग मेलम्चीको सहरीकरण तुलना हुन नसके पनि आपसी सहयोगका क्षेत्रमा सहकार्य गरिने बताउनुभयो । ‘खानेपानीको योजना त छँदैछ यसबाहेक मेलम्चीबाट बार्षिक रुपमा करीब ५० करोड रुपैयाँको दूध काठमाडौं आउँछ । धान, चामल र तरकारी आउँछ । यसबाट मेलम्चीलाई पनि स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको छ ।’ मेलम्चीको पानीका सन्दर्भमा कुरा गर्द मेयर अर्यालले भन्नुभयो, ‘आफ्नो ठाउँको पानी काठमाडौं पठाएपछि स्थानीयले सरकारसँग क्षतिपूर्ति र लेवीलगायतका बिषयमा अपेक्षा गरेका छन् । यसमा हामीले सरकारसँग कुरा गरिरहेका छौं । काठमाडौं महानगरले यस मागमाथि सद्भाव राख्ने हाम्रो अपेक्षा छ ।’
मेयर अर्यालको भनाइमाथि थप कुरा राख्दै महानगरका मेयर शाक्यले, खानेपानी व्यवस्थापन बोर्डमा यसका बिषयमा सकारात्मक कुरा उठेको र चाँडै खवर पाउने अवस्था रहेको जानकारी गराउनुभयो ।
मेलम्चीमा २ हजार ५ सय मिटर उचाइका हिमालदेखि पहाड र तराइ जस्तै समथर भूमाग रहेकोले काठमाडौंबासीका लागि घुम्न जान उपयुक्त गन्तव्य बन्न सक्ने मेयर अर्यालको भनाइ थियो । जर्सिङपौवाको सडक निर्माणको काम सकिएपछि काठमाडौंबाट ९० मिनेटमा मेलम्ची पुगिने बताउँदै उहाँले काठमाडौंको मानवसृजित र मेलम्चीको प्राकृतिक पर्यटन जोड्न सकिने उल्लेख गनुृभयो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्थाबमोजिम संघीय राजधानी काठमाडौं जिल्लामा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका र प्राकृतिक श्रोत साधन सम्पन्न पर्यटकीय नगर मेलम्चीबिच भगिनी सम्बन्ध स्थापना भएको हो । भगिनी सम्बन्ध सहमतिअनुसार दुई नगरबिच ‘जलाधार संरक्षण, स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य, पर्यटन प्रवर्धन, पर्यावरणको संरक्षणलगायतका क्षेत्रमा सहकार्य हुनेछन् ।
महानगरपालिकाकी डेपुटीमेयर हरिप्रभा खड्गी श्रेष्ठले ५२ औँ कार्यपालिका बैठकको निर्णयअनुसार विभिन्न नगरसँग भगिनी सम्बन्न स्थापनाको प्रक्रिया अघि बढाएको बताउनुभयो । महानगरले सहरी सरसफाइमा फोहोर व्यवस्थापन धुँवा, धुलो नियन्त्रणसहित सहरी पूर्वाधार र सुबिधावितरणसँगै अन्य नगरसँग सहकार्यका लागि भगिनी सम्बन्ध स्थापना गरिएको उल्लेख गर्नुभयो ।
पाँचपोखरी, गुफाडाँडा जस्ता पर्यटकीय स्थल र हेलम्बु जाने प्रवेशद्वार मेलम्ची नै भएकाले काठमाडौंसँग पर्यटनको प्रशस्त सम्भावना भएको बताउँदै मेलम्ची नगरकी उपप्रमुख भगवती नेपालले भगिनी सम्बन्धले आगामी दिनमा थप सहकार्य गर्न सकिने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइराला, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
भगिनी सम्बन्ध स्थापना लगत्तै मेलम्ची सिटी पार्क निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौताबमोजिम मेलम्ची नगरपालिका वडा नं. १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय पार्क निर्माण गरिनेछ । महानगरपालिकाले आ.व. २०७७/०७८ को स्वीकृत बजेट मेलम्ची नगरलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौतामा दुवै नगरका मेयरहरु शाक्य र अर्यालले हस्ताक्षर गर्नुभएको थियो ।
दुवै नगरको सहकार्यमा अब मेलम्ची नदी र सहायक खोलाका उदगम स्थलदेखिका बहाव क्षेत्रहरुमा बृक्षारोपण तथा प्रदुषण नियन्त्रणको काम गरिनेछ । यसै गरी नदीको पवित्रता कायम राख्न, स्थानीय स्तरमा उत्पादन हुने बहुमुल्य जडिबुटी र प्राङ्गारिक कृषि उत्पादनमा बृद्धि गर्न, बजार व्यवस्थापनलाई दिगो बनाउन काम गरिनेछ ।
अन्तरनगर भगिनी सम्बन्धले स्थानीय सरकारलाई नेपालको संविधान, संघीय कानुन, प्रदेश कानुन तथा अन्य प्रचलित ऐन कानुनले तोकेका काम, कर्तव्य, अधिकारको कार्यान्वयनमा सघाउ पु¥याउनेछ । यस्तै स्थानीय सरकारको दायित्व वहन गर्न, आपसमा विचारविमर्श तथा अन्तरक्रिया गर्न सहयोग पुग्नेछ । मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा र पर्यटनलाई अन्तरसम्बन्धित बनाउँदै पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य हुनेछ । स्थानीय सरकारको हैसियतले पूरा गर्ने पर्ने कानुनी तथा शासकीय दायित्वहरुलाई स्थानीय मौलिक परिवेशको पृष्ठभूमिमा सिकाइ प्रवर्धन हुनेछ । आपसी सांगठनिक स्वरुप, संस्थागत संरचना र शासकीय भूमिकालाई सवल, सुदृढ र प्रभावकारी बनाउन एकआपसका अनुभव, कार्यशैली, असल अभ्यास र महत्वपूर्ण उपलब्धीहरु आदान प्रदान हुनेछन् । भगिनी सम्बन्ध स्थापनासँगै जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीहरुमा रहेको ज्ञान, सीप तथा अनुभवको आदानप्रदान गर्न अध्ययन तथा अवलोकन भ्रमण, अन्तरक्रिया, गोष्ठीका माध्यमबाट आदानप्रदान हुनेछन् ।
Source – kathmanduonline.gov.np