FAQs Complain Problems

वडा ४ को भवन शिलान्यास, निर्माण अवधिभर चण्डोल ढुङ्गेधाराबाट कार्यालय सञ्चालन

चालु योजना र सार्बजनिक जग्गा संरक्षणमा वडाको ध्यान केन्द्रीत — वडाध्यक्ष विष्ट

महानगरको वडा नं. ४ कार्यालय बालुवाटारबाट चण्डोल ढुङ्गेधारा मानश्री (बिष्णु) मार्गमा सरेको छ । साबिक कार्यालय भएको स्थानमा नयाँ वडा भवन निर्माण हुने भएकोले माघ २७ गते आइतबारबाट वडा चण्डोल सरेको हो । चण्डोलस्थित उक्त भवन व्यक्तिले कब्जा गरेर निजी उपयोग थियो । यो थाहा पाएपछि वडाले अड्डाहरुबाट प्रमाण जुटाएर स्थानीयको सहयोगमा खाली गराएको थियो । त्यही खाली भवनमा वडा सरेको हो ।

वडा कार्यालयको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले गर्नुभयो । भवन उद्घाटनका अवसरमा बोल्दै उपप्रधानमन्त्री पोख्रेलले — आफूले निर्वाचनका समयमा सार्वजनिक जग्गा संरक्षण गर्ने कुरालाई प्राथमिकताका साथ उठाएको प्रसङ्ग उल्लेख गर्दै, वडाको सहयोग लिएर बोलेका कुरा पूरा गरिरहेको बताउनुभयो । हामीले चुनाबका दौरानमा बोलेका कसुरा क्रमशः कार्यान्वयनमा लिएर जाँदैछौं, मन्तव्य राख्ने क्रममा उहाँले भन्नुभयो — जेष्ठ नागरिकलाई दिने भनिएको भत्ता बढाउने तयारीमा छौं । हामी प्रतिव्यक्ति मासिक ५ हजार रुपैयाँ दिन्छौं । कार्यक्रममा प्रदेश सभा सदस्य नारायण सिलवाल र सीता अधिकारीले अन्तर सरकार समन्वयबाट वडालाई समृद्ध बनाउने प्रतिवद्धता दोहो¥याउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — महानगरबासीको चाहनाबमोजिम निरन्तर काम गरिरहेको बताउँदै, नकारात्मक कुरा गर्नेको पछि नलाग्ने बताउनुभयो । काम गर्छु भन्दा जुनसुकै योजनालाई पनि नराम्रो देख्ने चरित्रले समस्यामा पु¥याउन खोज्छ तर हारेको छैन । म निरन्तर डटेर सहरी समृद्धि प्राप्त गर्ने दिशामा हिँडिरहेको छु, मेयर शाक्यले अठोट व्यक्त गर्नुभयो । त्यस क्रममा वडाध्यक्ष मोहनबहादुर बिष्टले चालु योजना सम्पन्न गर्ने र सार्वजनिक जग्गा बचाउने कुरामा कसैसँग सम्झौता नगर्ने बताउनुभयो । प्रदेश सरकार र महानगरको केन्द्रबाट सञ्चालनमा रहेका योजना कार्यान्वयन सन्तोषजनक रुपमा अघि बढेको बताउँदै उहाँले बडाबासीको सहभागिताले मात्र समृद्धिमा पुगिने धारणा राख्नुभयो । कार्यक्रममा वडा सदस्य दिनेश महर्जन, ध्रुबप्रसाद त्रिपाठी र कल्पना बयलकोटीले वडाभित्र भौतिक पूर्वाधारका क्षेत्रमा भएका कामका बिषयमा जानकारी गराउनुभएको थियो ।

वडा कार्यालय उद्घाटनपछि रक्षा मन्त्री पोख्रेल र मेयर शाक्यले कार्यकक्षको अवलोकन गर्नुभएको थियो । सो क्रममा वडाध्यक्ष विष्टले सेवा प्रवाह र कार्यकक्ष व्यवस्थापनका बिषयमा जानकारी गराउनुभयो ।

वडा कार्यालय उद्घाटनपछि वडा भवन निर्माणस्थल बालुवाटार पुगेर प्रदेश सभा सदस्यहरु नारायण सिलवाल र सीता अधिकारी, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र वडाध्यक्ष मोहनबहादुर विष्टले भवनको शिलान्यास गर्नुभएको थियो । भवन ३ करोड ५५ लाख २५ हजार ४२६ रुपैयाँ ९५ पैसामा निर्माण हुनेछ । भवनको डिजाइन इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले तयार पार्नुभएको हो । उहाँका अनुसार भवन स्वरुप काठमाडौंको मौलिकता देखिने खालको हुनेछ । साढे ३ तले भवनको क्षेत्रफल ७ हजार स्क्वायर फिट हुनेछ । माघ १८ गते निर्माण पक्षलाई कार्यादेश दिइसकिएको छ । भवन निर्माण आउँदो बर्ष माघ मसान्तसम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ ।