Photo Gallery

सहरी समस्याको प्रविधिमा आधारित समाधान खोज्ने प्रयासमा महानगर

काठमाडौं । विद्यमान सहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौं महानगरले बुधबारबाट “स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८— स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” कार्यक्रम शुरु गरेको छ । समुदाय तथा वातावरण, सहरी पूर्वाधार बिकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन ४ क्षेत्र प्रतिस्पर्धाका मुख्य विषय हुन् । अवसरको अभावका बिकल्प सोचेर बसिरहेका युवाहरुलाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने आशा जगाउन उद्यमशीलता प्रबद्र्धन गर्न सक्ने सामुहिक प्लेटफर्मका रुपमा कार्यक्रम शुरु गरिएको हो । “हाम्रो काठमाडौं, हामी बनाउँछौं” नारा दिइएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” को शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — “काठमाडौं च्यालेन्ज डट ओआरजि” वेभपेज सार्वजनिक गर्नुभयो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख शाक्यले भन्नुभयो — हामीले अधिकांश समय स्मार्ट शव्दको प्रयोग गरिरहेका हुन्छौं । यो शव्द सहर बनाउने कुरामा मात्र होइन, व्यक्ति—व्यक्तिमा पनि स्मार्टनेसको कुरा आउँछ । धेरै समयको तयारी पछि सहरी समस्याको समाधान खोज्न सहरी योजना आयोगमार्फत नयाँ सोचको खुल्ला छलफल गर्ने थलो बनाएका छौं । यसले विकासमा सहभागिता, साझेदारिता बढाउँछ र प्राप्त उपलब्धीमा दायित्व बोध गराउँछ । प्रमुख शाक्यले — सहरी समस्या समाधानमा यसो गर्न पाए हुन्थ्यो वा म त्यो ठाउँमा पुगेको भए यसो गर्थें भनेर सोच्नेहरुलाई सोच लिएर आउन आग्रह गर्र्नुभयो । कार्यक्रममा बोल्ने क्रममा महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — महानगरको कार्यक्रमले युवाहरुलाई देशमै केही हुन थाल्यो भन्ने सन्देश सञ्चार हुने विश्वाश व्यक्त गर्नुभयो । हामी जिम्मेबार भएर काम गर्न खोजिरहेका छौं, उपप्रमुख श्रेष्ठ खड्गीले थप्नुभयो — हाम्रो काममा सहभागी हुन चाहने सबैलाई खुल्ला आमन्त्रण गर्दछौं ।

प्रतिस्पर्धामा सहभागी हुन नेपाली नागरिक हुनुपर्छ, ऊ स्वदेश वा विदेश जहाँबाट भए पनि भाग लिन सक्छ । सहभागिताका विषयमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले — सरकारी तहबाट यो पहिलो प्रयास भएको उल्लेख गर्नुभयो । संघ सरकारले पनि यसप्रकारका कामका लागि रकम छुट््याएको छ । त्यसको कार्यान्वयनका लागि पनि महानगरको प्रयास सिकाइ बन्न सक्छ, यहाँको भनाइ थियो ।

यस प्रकारका प्रतिस्पर्धाहरु निजी क्षेत्रबाट अभ्यास भएका छन् । बिदेशमा पनि यस्ता कार्यक्रम आयोजना हुन्छन् । तर हामी बिदेशी ढाँचाको होइन नेपाली समाज, यहाँको भूगोल र आवश्यकता अनुसारका सोच चाहन्छौं, कार्यक्रममा महानगरको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतको भनाइ थियो । प्रतिस्पर्धाबाट साधारण तर नौला र केही जटिल तर सम्भब हुने गरी दुई किसिमका प्रविधिहरुको अपेक्षा गरिएको छ, सदस्य सचिव बस्नेतको भनाइ थियो । प्रतिस्पर्धाको शुरुवात्मा एउटै समूहले धेरै सोच दर्ता गर्न सक्छन् । पछि एउट समूहको दुई वा त्योभन्दा धेरै सोच छनौटमा परे भने उनीहरुले अन्त्यमा एउटा मात्र सोच रोज्नुपर्छ । यङ् इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत विभुषण बिष्टले जानकारी दिनुभयो । यस प्रतिस्पर्धामा इनोभेसन्ससँगै नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, दायित्व, अन्तर प्रेरणा, ग्लोवल इन्टरप्रेनरसिप नेटवर्क, कारखाना र किन्स कलेज नोलेज पार्टनरका रुपमा सहभागी छन् ।

प्रतिस्पर्धाका चरण

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका सहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ । महानगरले प्रतिस्पर्धाबाट यसप्रकारका प्रतिफलको अपेक्षा गरेको छ । त्यस्तै महानगरपालिकाले प्रदान गर्ने सेवामा चुस्तता एवं पारदर्शिता कायम हुने र सामाजिक न्यायमा आधारित सुविधा वितरणमा सहयोग पुग्ने आशा गरिएको छ ।

प्रतिस्पर्धाका मूख्य ४ विषय र त्यसभित्र पर्ने २८ क्षेत्रमा प्रतिस्पर्धीले नविन सोच प्रस्तुत गर्नेछन् । ६ चरणमा सम्पन्न हुने प्रतिस्पर्धामा सोच छनौट गर्दा बिषयको महत्व, उत्पादन क्षमता, ब्यवसायिक नमूना, बिस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानिएको छ । तोकिएको मापदण्ड अनुसार मुल्यांकन गरी कुल अंकमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने समूह बिजेता बन्नेछ ।

पहिलो चरणमा कम्तीमा १०० वटा नविन सोच भएका युवाहरुको समूहहरुलाई छनौट गरि बिज्ञ समूहबाट करिब ३ महिना नियमित तालिम दिइनेछ । तीमध्ये ४ विषयका २४ समूह प्रतिस्पर्धी अन्तिम चरणमा पुग्नेछन् । उनीहरुलाई प्रदान गरिने विशिष्ट प्रकारको तालिमबाट सोचमा निखार ल्याइनेछ ।

सोच आउँदो पुष ३० गतेभित्र वेभपेजमार्फत दर्ता भइसक्नुपर्नेछ । यो प्रतिस्पर्धा ६ महिना लामो हुनेछ ।

पुरस्कार

उत्कृष्ट सोचलाई अर्थात् च्यालेन्जको विजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका ४ वटा विषयगत विजेतालाई प्रति समूह २ लाख रुपैयाँ र उपबिजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

, ,

नेतृत्व हामी गर्छौ, बहुपक्षीय लाभमा सबैले साथ दिनोस् — मेयर शाक्य

काठमाडौंं । आउँदो पौष १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने गरी काठमाडौं महानगरपालिकाले “पिक एण्ड ड्रप” कार्यक्रम तयारी थालेको छ । एउटासवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकोले यस प्रकारको समस्यामा न्युनीकरण गर्न “पिक एण्ड ड्रप” कार्यक्रम तयारी थालेको हो । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको सरोकारवाला कार्यालयका अधिकारीसँगको बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — सडकमा यात्रु पर्खेर रोक्ने एउटा सवारी साधनले धेरै मानिसको समय बर्बाद गरेको छ । सवारी जामले मानिसको उत्पादनशीलता घटाएको छ । लामो समय इन्धन जलेकोले वातावरणीय ह्रास पैदा गरेको छ । यसले गर्दा जति सडक चौडा बनाए पनि समस्या जहाँको त्यहीँ रह्यो । अब यातायात व्यवसायीसँगै सरकारी सरोकारवाला कार्यालयको सहकार्यमा “पिक एण्ड ड्रप” कार्यक्रम लागू गर्छौ । मेयर शाक्यले थप्दै भन्नुभयो — यसको नेतृत्व हामी गर्छौ, तपाईहरु साथमा आउनोस् ।

बैठकमा महानगरका प्रमुख प्रशाशकीय अधिकृत यादवप्रसाद कोइरालाले भन्नुभयो — यो सम्भव हुने काम हो । सबै मिलेर असम्भव हुनबाट जोगाउँ । बरु यातायात व्यवसायी गर्नु पर्ने छलफललाई तीब्र बनाउँ । टुँडिखेललाई केन्द्रमा राखेर हेर्दा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीदेखि भद्रकालीसम्म सबैभन्दा बढी समस्या छ । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् । सवारी साधन आफैंका बीचमा पनि स्वच्छ प्रतिस्पर्धा छैन । सवारी जामको समस्या केलाउँदै अधिकारीले — रुट पहिचान र साना सवारी साधनलाई ठूला साधनमा रुपान्तरण गर्नु यसको दीर्घकालीन समाधान हो भन्ने निष्कर्ष निकालेका छन् । यसको थालनी “पिक एण्ड ड्रप” कार्यक्रमबाट उपयुक्त छ । कार्यक्रमप्रति सबैको मत एउटै थियो ।

बैठकमा महानगरका सहसचिव डा. टोकराज पाण्डेले — नमूनाका रुपमा निश्चित ठाउँमा “पिक एण्ड ड्रप” लागू गर्ने र यसको प्रभाव विश्लेषण गरेर विस्ता गरिने बताउनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले — यस अघि विभिन्न समितिले दिएको रुट स्वीकृतको पूर्ण विवरण विभागमा नभएकाले समस्या भएको कुरा उल्लेख गर्दै पौष १ गतेदेखि कार्यान्वयन तयारीमा रहेका काठमाडौंका ६६ वटा रुटको प्रभावकारी सञ्चालनमा पनि साझेदारिता हुनु पर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा — पूर्वाधार तयार भएपछि व्यवहार परिवर्तनमा सहज हुने बताउनुहुन्छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्त, जेलिएका रुट र साना सवारी साधन ट्राफिक जामको जड भएको बताउनुहुन्छ ।

यसप्रकारका समस्या समाधान गर्न उपयुक्त विधि निकाल्न बैठकले ५ सदस्यीय समिति समेत गठन गरेको छ । महानगरको शुशासन विभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा गठित समितिको सदस्यमा सडक डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजन इञ्जिनियर रामबहादुर गुरुङ्, साना ठूला सवारी एकान्तकुनाका उपसचिव बसन्त पन्थी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक कृष्णदत्त भट्ट हुनुहुन्छ । समितिको सदस्य सचिवमा नगर प्रहरी महाशाखाका प्रमुख बिष्णु जोशी रहनु भएको छ । समितिलाई ७ दिनको समय दिइएको छ ।

,

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार एक कार्यक्रमबीच वडा २१ लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहार कुलदेवता घर (दिगु द्यः) को पुननिर्माण आरम्भ गर्नुभयो । शास्त्रीय बिधिअनुसार बिहीबारको शुभ साइतमा विशेष पूजा गरी उहाँले जीर्ण दिगुद्यःको पुनर्निर्माण आरम्भ गर्नुभएको हो ।

कीर्तिपुण्य महाविहार काठमाडौं उपत्यकाकै प्राचीन महाविहारमध्ये एक मानिन्छ । उक्त महाविहारभित्र रहेको यो दिगुद्यः स्थानीय शाक्य समुदायका इष्ट देवता हुन् । सिद्धार्थ गौतम बुद्धको गृहनगर कपिलवस्तुबाट लखेटिएका शाक्यहरूले कान्तिपुरमा आफ्नो बसोबास शुरु गरेपछि यो दिगुद्यः स्थापना गरेको विश्वास गरिन्छ ।

करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको दिगुद्यः आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

,

सबै सँगै हिँडे मात्र समृद्धिमा पुगिन्छ — मेयर शाक्य
चन्द्रमणि भट्टराई
असोज २५
काठमाडौं महानगरपालिकाले एक बर्षमा २५.५ किलोमिटर सडक कालोपत्र गरेको जनाउँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, ९८ हजार ८३४ बर्गमिटर सडक टालेर मर्मत गरिएको, ६० करोड रुपैयाँ बराबरका २१७ वटा चालु र ७ करोड रुपैयाँ बराबरका ४८ वटा नयाँ योजना सम्पन्न भइसकेको जानकारी दिनुभएको छ । विहीबार सञ्चारकर्मीहरुसँग भेट गर्ने क्रममा आ. व. २०७४/०७५ को प्रगति विवरण सुनाउँदै उहाँले यो तथ्य सुनाउनुभएको हो ।

महानगरले गरेका केही काममा आलोचना पनि भएका छन् । ती विषय आफैंमा विवादित नभइ, बिषय हेर्ने मनोवृत्ति विवादमा भएको मेयर शाक्यको तर्क छ । काष्ठमण्डप पुननिर्माणका लागि आवश्यक सबै खर्च महानगरले व्यहोर्छ । हामी कोही दाताबाट यसमा लाग्ने खर्च लिँदैनौं । यो बर्ष काष्ठमण्डप पुननिर्माणका लागि हामीले ८ करोड रुपैयाँ विनियोजन गरेका छौं । महानगरले काष्ठमण्डप (सत्तल) निर्माण गर्न ५० लाख रुपैयाँ दियो भन्ने कुरा सत्य होइन । हामीले दिएको ५० लाख प्रारम्भिक रकम (सिड मनी) हो । रानीपोखरी पुननिर्माणको काम हामी आउनु अघिको योजना हो । मेयर शाक्यले सार्वजनिक चर्चाका विषय उल्लेख गर्दै भन्नुभयो — महानगरको केन्द्रीय कार्यालय बनाउने विषय छ, त्यसमा हामीले बाघदरबार मास्न खोेजेका होइनौं । अहिले सबैले देखेको भवन हरिभवन हो । अहिले भवन निर्माणा हुनु अघि नै बाघदरबार नासिइसकेको थियो । यो व्यक्तिबाट सरकारले किनेको भवन हो ।

महानगरले सम्पादन गरिरहेका काम, नागरिक सरोकार विषय र आफ्ना आगामी योजना बताउँदै उहाँले भौतिक पूर्वाधार विकास, समावेशी र पहुँचयुक्त सहर निर्माण, मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, सुरक्षा र व्यवस्था तथा स्वास्थ्य र शिक्षा क्षेत्रको सन्तुलित विकासबाट आफ्नै कार्यकालमा संघीय नेपालको केन्द्रीय राजधानीलाई उत्कृष्ट बनाउने प्रयासमा आफू क्रियाशील रहेको बताउनुभयो ।

पूर्वाधार विकासका क्रममा धेरै चुनौती छन् । २०४७ सालबाट शुरु भएको मेलम्ची खानेपानी वितरण प्रणाली विकास हुँदैछ । यसका कारण उत्पन्न वातावरणीय समस्याबाट महानगर आलोचित छ । तर यसमा महानगरको केही दोष छैन । हामी नेतृत्व लिएर समन्वयात्मक काम गर्ने प्रयासमा छौं, यो प्रयासका बाबजुत पनि अपेक्षित उपलब्धी प्राप्त हुन सकेको छैन । मेयर शाक्यले सडकको खाल्टाखुल्टीको प्रसङ्ग उल्लेख गर्दै — बर्खामा गरेको काम पानीमा बगेर जान्छ भनेर त्यसबेला काम रोकेका हौं । यो बर्षलाई पूर्वाधार विकास बर्षका रुपमा अगाडि बढाएर, अहिले भौतिक समृद्धि प्राप्त गर्ने बाटोमा हिँडिरहेका छौं ।

कुराकानीका क्रममा मेयर शाक्यले — कर प्रणालीलाई दरिलो बनाउन दरभन्दा दायरामा ध्यान दिएको बताउनुभएको थियो ।

चुनावमा राजनीति दलको झण्डा बोके पनि अन्य समयमा विकासको झण्डा बोकौं — मेयर शाक्य

काठमाडौंं । काठमाडौं महानगरको वडा ३१ एउटै वडामा चालु आर्थिक बर्षमा करीव ६१ करोड रुपैयाँमा पूर्वाधार निर्माणको काम भइरहेको छ । यसमा संघ सरकारको ४८ करोड, प्रदेश सरकारको १० करोड र महानगरको ३ करोड रुपैयाँ बजेट छ । शुक्रबार वडा विकासको बार्षिक समीक्षा, रणनीतिक कार्ययोजना तथा बिज्ञसमूह गठन सम्बन्धि कार्यक्रममा वडाको पूर्वाधार निर्माणको एकीकृत योजनाका विषयमा प्रदेश सभा संसद गणेश दुलालले यस्तो जानकारी दिनुभएको हो ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — महानगरले सहरी व्यवस्थापनका लागि सेवालाई पारदर्शी र प्रविधिमैत्री बनाउँदै लगेको र समृद्धिका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । यो बर्ष महानगरको पूर्वाधार बर्ष हो । हामी गुणस्तरीय पूर्वाधारबाट समृद्धि र जीवनयापन पद्धतिमा सुधार गरिरहेका छौं तर केहीले अल्मल्याउन खोजिरहनु भएको छ । यसमा सचेत भएर अघि बढिरहेका छौं । मेयर शाक्यले, राजधानी सहर व्यवस्थापन गर्न आफूसँग योजना पनि भएको, पैसा पनि भएको बताउँदै सबै मिलेर काम गर्ने संस्कृति नभएकोले असजिलो व्यहार्नुपरेको अनुभव सुनाउनुभयो । म महानगरबासीको शिर झुक्ने काम गर्दिन, त्यसैले आलोचनालाई पनि सुझावका रुपमा लिएको छु, मेयर शाक्यको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य गणेश दुलालले वडाभित्र रहेको ५५ रोपनी साविक ट्रलीबस सञ्चालन भएको जमिनलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्नुपर्ने बताउँदै अन्तरराष्ट्रिय सम्मेलन केन्द्र र आसपासका क्षेत्रको सवारी आवागमन व्यवस्थापनलाई दृष्टिगत गरेर नगर विकास कोषसँगको सहकार्यमा लिफ्ट पार्किङ्को डिपिआरको काम भइरहेको बताउनुभयो । बाग्मती कोरिडोर खोल्न सकुम्बासी समस्या समाधान गर्नु पर्ने प्रसङ्ग उल्लेख गर्दै उहाँले — बडा भएर बग्ने बाग्मती नदी किनारामा ४७५ घर रहेको, तीमध्ये ११५ घर बनाउने धनी आफ्नै घरमा बसेर त्यहाँ अरुलाई भाडामा दिएको, ८६ घरधुरी निर्माण गरेर १५ लाख रुपैयाँसम्मा विक्री भएको तथ्याङ्क उल्लेख गर्दै वास्तविक सकुम्बासी ५ प्रतिशत भएको र तिनलाई महानगरकै प्रयासमा व्यवस्थापन गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्ने क्रममा प्रदेश सभा सदस्य राजेन्द्र गुरुङ्ले — नागरिकबाट आएका सवाल र जिज्ञासाको जवाफ दिएर भन्दा विकास गर्नुपर्छ भन्ने जिम्मेवारी बोध गरेर अगाडि बढ्ने बताउनुभयो । समस्या साझा हुन्, तिनलाई साझा सोचबाट व्यवस्थापन गरौं, उहाँको भनाइ थियो ।

कार्यक्रममा वडाध्यक्ष नारायण भण्डारीले — आउँदो असारमसान्तपछि कोही पनि नागरिकले हिलो धुलो कुल्चिएर घरमा प्रवेश गर्नु नपर्ने गरी सडकमा कालोपत्रे गर्ने र ढुङ्गा छाप्ने काम भइरहेको बताउनुभयो । फोहोरमैला व्यवस्थापनलगायत जनताको सहभागिता हुने केही कार्यक्रम छन् त्यसका लागि आफूले पूर्वाधार तयार गरी नसकेकोले प्रस्ताव ल्याउन सकिएको छैन । पूर्वाधार तयार भएपछि अभियान सञ्चालन प्रस्ताव अघि सार्ने वडाध्यक्ष भण्डारीको भनाइ थियो । समीक्षा कार्यक्रममा वडा सचिव सुरेश साहुले गएको बर्ष र चालु आर्थिक बर्षको सम्पन्न अवधिमा भौतिक पूर्वाधार तथा विकास, राजस्व संकलनलगायतका क्षेत्रमा भएका कामको प्रगति प्रस्तुत गर्नुभएको थियो ।

महानगरको ३१ वडा, प्रदेश निर्वाचन क्षेत्रका दृष्टिले नेपालकै एक वडा एक निर्वाचन क्षेत्र भएको वडा हो । उच्च जनघनत्व भएको यस वडाको सिमाना पूर्वमा बागमती नदी, पश्चिममा देवकोटा सडक, उत्तरमा बाबुराम आचार्य सडक र दक्षिणमा ललितपुर महानगरपालिका पर्छ । २३२.१ हेक्टर जमिन क्षेत्रफलमा फैलिएको वडामा करीब १ लाखभन्दा बढी जनसंख्या छ भने १५ हजार घरधुरी छन् । नेपालकै एक मात्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नेपालकै एक मात्र निजामति सेवा अस्पताल यसै वडामा हुनुले वडाको गरिमा बढाएको छ ।

वडामा जनप्रतिनिधि आइसकेपछि अहिलेसम्ममा पूर्वाधारतर्फ ५० वटा योजना सम्पन्न भइसकेका छन् । गएको बर्ष ६ करोड ६ लाख ५ ह्ज्ँर २६८ रुपैयाँ नौ पैसा राजस्व संकलन गरेको वडाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ३ करोड ६० लाख ४३ हजार २९ रुपैयाँ ८० पैसा राजस्व संकलन गरिसकेको छ ।

वडाको विज्ञ समूह

आफ्नो क्षेत्रको भौतिक तथा सामाजिक समृद्धिका लागि वडा ३१ ले पछि आउने नाम समेट्ने गरी ७ जना विज्ञको नाम प्रस्ताव गरेको छ । प्रस्तावित बिज्ञहरुमा प्रा. डा. जीवेन्द्रदेव गिरी, तेजबहादुर ढकाल, केशव घिमिरे, गोबिन्द गौत्तम, धनराज सापकोटा, जीवनाथ पोख्रेल र केदार कोइराला हुनुहुन्छ ।

वडाको स्वास्थ्य सेवा, शिक्षा र शैक्षिक अवस्था सुधार, खानेपानी व्यवस्थापन, व्यक्तिको प्रतिव्यक्ति आय वृद्धि, वातावरणीय सुधार, शुशासन सेवा, युवा परिचालन, बालबिकास लगायत भौतिक र सामाजिक क्षेत्रमा आवश्यकता पहिचान गर्ने, योजना निर्माण गर्ने तथा बहुलाभका पक्ष पहिचान गर्ने काम विज्ञ समूहको हुनेछ । वडा अन्तर्गत रहेका बौद्धिक समूहसँग व्यापक छलफल गरि रणनीतिक योजना तर्जुमा गर्न बौद्धिक समूह गठन गर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ मा उल्लेख छ ।

वडाका बिशिष्टहरुको सुझाव

वडाले बौद्धिक समूह गठन आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रबाट सेवा निवृत्त पदाधिकारी, टोलसुधार समिति, उपभोक्ता समितिलगायत क्षेत्रगत रुपमा प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रम तालिका अनुसार दर्शकदीर्घामा रहनुहुने व्यक्तिलाई बोल्न दिने कार्यक्रम थिएन । जब वडाध्यक्ष नारायण भण्डारीले सम्पन्न कामको चर्चा गरेर बौद्धिक समूहको प्रस्तावित नाम उल्लेख गर्नुभयो त्यसपछि दर्शकबाट बोल्न पाउनु पर्ने माग आयो । पूर्वविशिष्टहरुसमेत रहेको दर्शकदीर्घाबाट माग आएपछि वडाध्यक्षले संक्षिप्तमा बोल्न आग्रह गर्दै अनुमति दिनुभयो ।

त्यसपछि पूर्व सहसचिव उद्धव तिमिल्सिना, महानगरका पूर्व प्रमुख तथा कार्यकारी अधिकृत सूर्यशरण रेग्मी, खुल्ला विश्वविद्यालयका डीन इन्द्र कार्कीलगायत १ दर्जन बढी व्यक्तिले वडाको समृद्धिका आवश्यकता र आफ्नो भूमिकाका विषयमा दृष्टिकोण राख्नुभयो । यस क्रममा कुकरको जमातले रातभरि सुत्न नदिएको, कुकरको दिशाले वातावरण प्रदुषित भएको, रुख विरुवाको अवस्थामा एकरुपता नभएको, जमिन किनेर त्यत्तिकै छोड्नाले अपराध बढेको, नागरिक दायित्व बढाउने काममा कमी भएको, राजनीतिक दलले सुकुम्बासी बस्तीलाई भोट बैङ्कका रुपमा जोगाएको जस्ता गुनासा राख्नुभएको थियो भने सबै मिलेर काम गरे समृद्धिमा पुग्न दिन नलाग्ने सम्भावना पनि देखाउनुभएको थियो ।

 

, , ,

तुलनात्मक लागत विश्लेषणपछि विद्युतीय सवारीको छनौट — मेयर शाक्य

चन्द्रमणि भट्टराई
मंसिर १३

काठमाडौंं । बिद्युतीय सवारी साधनलाई सार्वजनिक आवागमनका प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारिता गर्ने महातगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ । बिहीबार सुन्दर यातायातका अधिकारीसँगको भेटका क्रममा मेयर शाक्यले भन्नुभयो — हामीसँग साझेदार बन्न चीनको बिवाइडि कम्पनीले इच्छा देखाएको छ । हामी अहिले त्यस कम्पनीबाट उत्पादित बसको मुल्य, हाम्रो खरिद गर्न सक्ने क्षमता, यसबाट हुने वातावरणीय तथा आवागमनमा पुग्ने लाभ, बस सञ्चालनका लागि हाम्रा पूर्वाधारका आधारमा सम्भावना हेरिरहेका छौं । भेटका क्रममा सुन्दर यातायातलाई विद्युतीय सवारी उपलब्ध गराउने चीनको बिएक कम्पनीका अधिकारी पनि सहभागी थिए ।

सुन्दर यातायातले अबको ६० दिनभित्र, ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका ३ वटा सार्वजनिक बिद्युतीय बस सञ्चालन तयारी गरेको छ । प्रा. लि. का कार्यकारी अध्यक्ष भेषबहादुर थापा भन्नुहुन्छ — हामीले काठमाडौंको सडक र बसको क्षमता जाँच गरिसकेका छौं । काठमाडौंको सोह्रखुट्टे उकालोमा चढ्न सक्ने र अहिले बौद्ध क्षेत्रमा भएको खाल्टाखुल्टीमा गुड्न सक्ने बस ल्याउन लागेका हौं । सरकारले बिद्युतीय बस सेवा सञ्चालनलाई प्राथमिकतामा राखेपछि हामी यस काममा अग्रसर भएका हौं, थापाले थप्नुभयो ।

भेटका क्रममा बिएक कम्पनीका प्रमुख कार्यकारी च्यानलिन लुओले भन्नुभयो — बिओडि कम्पनीका बसहरुभन्दा हाम्रो कम्पनीका बसहरु सस्ता र बलिया छन् हामी संसारभरिका सहरमा बस पठाइरहेका छौं । तिनीहरु जुन सहरमा पठाउने हो, त्यहाँको भूगोल र आवश्यकता अनुसारका बस तयार गरेर पठाउँछौं । विद्युतीय बस सेवा प्रवर्धन गर्न अहिले बिएकका प्रबन्धक, बजार व्यवस्थापक र अन्तरराष्ट्रिय व्यापार व्यवस्थापक नेपाल आएका छन् ।

,

चीनमा काठमाडौं महानगर अवार्डेड । “फ्रेण्डसिप सिटि फर एक्सचेन्जेज एण्ड कोअपरेसन विथ चाइना” अवार्ड लिएर मेयर उपमेयर फिर्ता ।।।

चन्द्रमणि भट्टराई

काठमाडौंं । काठमाडौं महानगर चीनको हुआन सहरमा “फ्रेण्डसिप सिटि फर एक्सचेन्जेज एण्ड कोअपरेसन विथ चाइना” अवार्डबाट सम्मानित भएको छ । हुआनमा नोभेम्बर १४ — १६ (कार्तिक २८—३०) सम्म आयोजना भएको “चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८” मा महानगर अवार्डबाट सम्मानित भएको हो । अवार्डका लागि तिब्बतको ल्हासा नगरले महानगरलाई शिफारिस गरेको थियो । उक्त सम्मेलनमा महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी सहभागी हुनुहुन्थ्यो । उहाँहरु सम्मेलन सकेर शनिवार स्वदेश फर्कनुभएको छ । सो क्रममा उहाँहरुलाई संघीय संसद सदस्य रामवीर मानन्धर, महानगरका कार्यवाहक मेयर भरतलाल श्रेष्ठसँगै जनप्रतिनिधि र कर्मचारीहरुले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । हुआनमा सम्पन्न सम्मेलनमा चीनसँग भगिनी सम्बन्ध भएका ६० वटा अन्तरराष्ट्रियसहित ८०० नगरका प्रतिनिधिको सहभागिता थियो ।

स्वदेश फर्कने क्रममा विमानस्थलको विशिष्ट कक्षमा सम्मेलन र उपलब्धीका विषयमा मेयर शाक्यले अनुभव सुनाउनु भएको थियो । “ त्यहाँ पूर्व प्रधानमन्त्रीहरु पनि हुनुहुन्थ्यो । त्यहाँ अन्तरराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिको दृष्टिकोण बुझ्ने मौका पाइयो । आधुनिक र समृद्ध सहर निर्माणका लागि अन्तरराष्ट्रिय अभ्यासलाई हाम्रो परिवेशमा रुपान्तरण गर्ने हौसला मिलेको छ । हामीले छेन्दुलगायत अन्य विभिन्न नगरका प्रमुख र उपप्रमुखसँग आपसी सहयोगका कुरा गरेका छौं । हामीले सिकेका र जानेका कुरा महानगरबासीको हितमा उपयोग गर्छौ ।”

सम्मेलनमा सहभागिता जनाउन उहाँहरु गएको सोमबार चीन प्रस्थान गर्नुभएको थियो । “विकासका अवसर र आपसी साझा जीत — सेयरिङ् डिभलपमेन्ट अपरच्युनिटिज एण्ड डिपिङ् विन विन कोअपरेसन” विषयमा केन्द्रीत सम्मेलन, चाइनीज पिपुल्स एशोशिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसि), चाइना इन्टरनेशनल फ्रेन्डसिप एशोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले आयोजना गरेका हुन् । जसमा युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट (युसिएलजि) का सदस्यहरुसमेत सहभागी थिए । आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलन प्रभावकारी रहेको मेयर शाक्यको अनुभव छ ।

 

, ,

बिगतमा महानगर एक्लैले सफाइ गर्दै थियो अब सामुहिक प्रयत्न थालियो

चन्द्रमणि भट्टराई
मंसिर ८

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिवार (आज) बाट सहरी सौन्दर्यता प्रवर्धन सघाउ कार्यक्रम शुरु गरेको छ । महानगरले कार्तिक २९ गते सहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर सौन्दर्यीकरण प्रवर्धनमा सहयोग गर्न आग्रह गरेको थियो । त्यसैबमोजिम आजबाट सडकको नालीमा बनाइएका अनावश्यक ¥याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र त्यस ठाउँमा जेट मेशिनको प्रयोग गरेर सफा गर्ने काम थालनी गरेको हो ।

शनिबार विहान कार्यक्रमको शुरुवात् गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — सामुहिक प्रयत्नबाट काठमाडौंको सुन्दरतामा निखार आउने विश्वाश व्यक्त गर्नुभयो । विगतमा महानगर एक्लैले काम गरिरहेको थियो । त्यसमा अब विकास साझेदार सबैको सहभागिता जुटेको छ । सरसफाइमा परिणाम प्राप्त हुने योे बलियो आधार हो । मेयर शाक्यको भनाइ थियो ।

रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलसम्म पुगेको थियो । कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो । महानगरको वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार यो कार्यक्रम हरेक शनिबार नियमित सञ्चालन हुनेछ ।

सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवर्धन गर्न, अव्यवस्थित रुपमा रहेका केवल, विद्युतका तार तथा पोलहरुको व्यवस्थापन गर्न, खानेपानीका पाइप व्यवस्थापन, डेव्रिज व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापन गर्न, सडक मर्मत तथा मार्किङ् जस्ता काम गर्दा महानगरलाई सूचना दिएर मात्र गर्नु पर्ने विषयमा विकासे अड्डाहरु सहमत भएका छन् । यस सहमतिबमोजिम अब काम जिम्मेवारी तोकिएका निकायले गर्नेछन् तर कामको जानकारी महानगरलाई गराउनु पर्नेछ ।

 

 

 

 

Pages